काठमाडौं : मुलुक निर्वाचनमय बन्दै जाँदा सुरक्षा संवेदनशीलताको विषयलाई गम्भीरताका साथ हेरिएको छ । सामान्य अवस्थामा नियमित रूपमा हुने निर्वाचनभन्दा यो पटकको निर्वाचन फरक परिवेशमा हुन लागेकाले यसलाई अझ बढी संवेदनशील र महत्वका साथ हेरिएको हो ।
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै संविधान र वर्तमान व्यवस्थाअनुसार मुलुकलाई ट्र्याकमा ल्याउन सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्दै छ । आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता नआउनु र भागेका करिब आधा कैदीबन्दी अझै बाहिरै रहनु चुनावी सुरक्षाका प्रमुख चुनौतीका रूपमा लिइएको छ ।
यसका अतिरिक्त, सरकारले ३ हजार ६ सय ८० वटा मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखेको छ । सुरक्षा निकायहरूको संयुक्त अध्ययनपछि करिब ११ हजार मतदानस्थलमध्ये सुरक्षाका दृष्टिले एकतिहाइ स्थानलाई अति संवेदनशील वर्गमा समेटिएको जनाइएको छ ।
प्रतिनिधि सभा सदस्यतर्फ २ सय ७५ सिटमा निर्वाचन हुँदैछ । जसमा १ सय ६५ सिट प्रत्यक्ष र १ सय १० सिट समानुपातिक प्रणालीबाट टुंगो लाग्नेछ । निर्वाचन आयोगले १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले मतदानस्थललाई ‘अति संवेदनशील’, ‘संवेदनशील’ र ‘सामान्य’ गरी तीन वर्गमा विभाजन गरिएको जानकारी दिए । उनका अनुसार ४ हजार ४ सय ४२ मतदानस्थल संवेदनशील र २ हजार ८ सय ४५ मतदानस्थल सामान्य सूचीमा राखिएका छन् ।
वर्गीकरण गर्दा राजनीतिक प्रतिस्पर्धा, दलहरूको पकड क्षेत्र, सीमा जोडिएका इलाका, विगतको निर्वाचन अनुभव, नवउदीयमान राजनीतिक शक्तिको उपस्थिति, सहरी–ग्रामीण अवस्था तथा भौगोलिक जोखिमलाई आधार बनाइएको काफ्लेले बताए । जोखिमका आधारमा उच्च हिमालीदेखि तराईसम्म फरक–फरक सुरक्षा रणनीति अपनाइएको छ ।
‘यसपटक निर्वाचन सुरक्षाका सबै पक्षलाई सूक्ष्म अध्ययन गरेर योजना बनाएका छौं,’ प्रवक्ता काफ्लेले भने, ‘निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरी पूर्ण रूपमा प्रतिबद्ध छ ।’
उनले शान्ति सुरक्षाको विषयमा कसैले डर वा त्रास मान्नुपर्ने अवस्था नरहेको दाबी गरे । सबै सुरक्षा निकायको समन्वयमा देशभर अलर्ट अवस्था कायम गरिएको पनि उनले जानकारी दिए ।
२०७९ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा १० हजार ८ सय ७९ मतदानस्थल र २२ हजार २ सय २७ मतदान केन्द्र थिए । यसपटक ७५ मतदानस्थल र ८ सय ७५ मतदान केन्द्र थपिएका छन् । अघिल्लो निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता रहेकामा यसपटक सवा ९ लाख थपिँदा मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ पुगेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र ‘निर्वाचन प्रहरी’ गरी ३ लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ । जसमा नेपाली सेनाका ७९ हजार ७ सय २७, नेपाल प्रहरीका ७१ हजार ६ सय २०, सशस्त्र प्रहरीका ३५ हजार १ सय १६ र अनुसन्धान विभागका १ हजार ९ सय कर्मचारी रहनेछन् ।
त्यसैगरी, सरकारले ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड–२०८२’ अनुसार १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी भर्ना गर्ने तयारी गरेको छ । केही जिल्लामा निर्वाचन प्रहरीको संख्या अपुग भएकाले थप समय दिएर आवेदन माग गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले निर्वाचन प्रहरी छनोट र तालिम सम्पन्न भइसकेको र सुरक्षा संवेदनशीलताका आधारमा सबै तहमा अन्तिम सुरक्षा तयारी भइरहेको जानकारी दिए । मन्त्रालयले सातै प्रदेशमा सुरक्षा गोष्ठीसमेत सम्पन्न गरिसकेको छ ।
प्रतिक्रिया