काठमाडौं। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको समूह र ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा रहेको उज्यालो नेपाल पार्टीबीच चुनावी सहकार्यको तयारी अन्तिम चरणमा पुगेको छ। रास्वपासँग लामो समयसम्म चलेको छलफल निष्कर्षमा नपुगेपछि बालेन समूह कुलमान पक्षसँग गठबन्धनतर्फ मोडिएको हो।
रास्वपासँग विभिन्न चरणमा भएको संवाद सकारात्मक देखिए पनि शीर्ष नेतृत्वभित्रको मतभेदका कारण सहकार्य सम्भव नदेखिएपछि बालेन समूहले वैकल्पिक साझेदार खोज्न थालेको थियो। सोही क्रममा उज्यालो नेपाल पार्टीसँग भएको निरन्तर संवाद अहिले सहमतिका महत्वपूर्ण बिन्दुहरूमा पुगिसकेको बालेन पक्ष निकट स्रोत बताउँछ।
स्रोतका अनुसार दुबै पक्षबीच काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये पाँच–पाँच क्षेत्रमा उम्मेदवारी भागबन्डा गर्नेबारे प्रायः सहमति भइसकेको छ। अन्य निर्वाचन क्षेत्रहरूमा पनि सोही मोडेलमा तालमेल मिलाउन दुवै पक्ष सक्रिय छन्। बालेन समूहले नयाँ दल दर्ता नगरी नै उज्यालो नेपाल पार्टीसँग सहकार्यमै आगामी निर्वाचनमा जाने निर्णय पक्का जस्तै देखिएको छ।
यसअघि बालेन समूह र राष्ट्रिय स्वतन्त्र पार्टीबीच चुनावी तालमेलबारे भएको प्रारम्भिक छलफल आशाजनक थिए पनि रास्वपा उपसभापति तथा कार्यवाहक सभापति डीपी अर्याल, स्वर्णिम वाग्ले लगायतका नेताले वातावरण बनाउन सहयोग नगरेको आरोप बालेन पक्षले लगाएको छ। नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने सहकार्यका पक्षमा देखिए पनि बाहिर रहेको नेतृत्वको असमझदारीका कारण सहकार्य असम्भव बनेको बताइएको छ।
यता रास्वपा नेताहरू भने छलफल अझै जारी रहेको र अन्तिम निष्कर्ष आउन बाँकी रहेको दाबी गर्छन्। तर बालेन–कुलमान पक्षबीच सहकार्यको खाका स्पष्ट बन्दै गएपछि आगामी निर्वाचनमा नयाँ शक्ति संयोजन उदाउँदै गएको संकेत देखिन थालेको छ।
प्रतिक्रिया