विलासी गाडीको प्रश्नबाट ‘भागे’ बालेन, विराटनगरबाट काठमाडौं प्रस्थान

शनिबार, १० माघ २०८२

विराटनगर : आफूलाई पुरानो राजनीतिक प्रणालीको विकल्प, परिवर्तनको प्रतीक र नयाँ राजनीतिक संस्कृतिको संवाहकका रूपमा प्रस्तुत गर्दै आएका बालेन्द्र साह(बालेन) पछिल्लो समय आफ्नै दाबीको सबैभन्दा ठूलो विरोधाभास बनेर उभिएका छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन शनिबार साँझ कुनै पूर्वसूचना बिना विराटनगरबाट ‘सुटुक्क’ काठमाडौं फर्किएपछि उनीमाथि उठिरहेको आलोचना झनै तीव्र बनेको छ ।

धनकुटा हुँदै विराटनगर आइपुगेका बालेन विराटनगर विमानस्थलबाट यति एयरलाइन्सको जहाजमार्फत साँझ करिब ६ः३० बजे काठमाडौं उडेका हुन् । उनको टिकट साँझ ५ः१५ बजेकै भए पनि जहाज ढिलो उड्दा करिब सवा घण्टा ढिलाइ भएको सुरक्षा स्रोतले जनाएको छ ।

काठमाडौं जानुअघि उनले विमानस्थल नजिकैको होटल पर्पल हेजमा केही कार्यकर्ता र उम्मेदवारसँग करिब एक घण्टा छलफल गरेका थिए । तर, छलफलको विषय, अचानक काठमाडौं जानुको कारणबारे न पार्टीले स्पष्ट पारेको छ, न त स्वयं बालेनले नै सार्वजनिक रूपमा केही बताएका छन् ।

काठमाडौं जाने विषय योजनाबद्ध रूपमा गोप्य राखिएको थियो । पूर्वनिर्धारित निर्वाचन लक्षित कार्यक्रमहरू अन्तिम समयमा एकपछि अर्को गर्दै रद्द गरिए । धनकुटा र पाख्रीबासका कार्यक्रम स्थगित हुँदा पनि कार्यकर्ता र मतदातालाई वास्तविक कारण जानकारी दिइएन ।

स्रोतका अनुसार विराटनगरमा आमसभा हुने बहाना बनाउँदै धनकुटाबाट आएका बालेन काठमाडौं फर्किएका हुन् । जबकि वास्तविकतामा विराटनगरमा कुनै आमसभा तय नै गरिएको थिएन ।

शनिबार दिउँसो बालेन धनकुटा सदरमुकाम पुगेका थिए । भीमनारायण चोकदेखि मदन चोकसम्म पैदल हिँड्दै समर्थकसँग भेटघाट गर्ने कार्यक्रम तय भए पनि उनी गाडीबाट बाहिर निस्किएनन् । घण्टौँ कुर्दा पनि बालेन नओर्लिएपछि समर्थकहरू निराश र खिन्न बनेको प्रत्यक्षदर्शीले बताएका छन् ।

कार्यव्यस्तताको कारण देखाउँदै उनले गाडीको झ्यालबाट केही बेर हात मिलाएर अगाडि बढेका थिए । त्यसअघि भने हिलेमा केही समय पैदल हिँडेको भन्दै रास्वपाले आंशिक सफाइ दिएको छ ।

धनकुटा जिल्ला पार्टीले बालेनको आगमनलाई लिएर केही दिनदेखि व्यापक प्रचारप्रसार गरेको थियो । शनिबार बिहान १० बजेदेखि कार्यक्रम हुने भनिए पनि अन्तिम समयमा सबै कार्यक्रम रद्द भए ।

रास्वपा धनकुटाका अध्यक्ष बालनन्द दाहालले विराटनगरमा ‘काम विशेष’ परेकाले कार्यक्रम स्थगित गरिएको दाबी गरे पनि विराटनगरमा कुनै आमसभा नै नभएको तथ्य बाहिर आएपछि पार्टीको भनाइ नै प्रश्नको घेरामा परेको छ ।

बालेनको अचानक काठमाडौं प्रस्थानको पृष्ठभूमिमा पछिल्लो समय चर्किएको विलासी गाडी विवाद केन्द्रमा छ । काठमाडौं महानगरपालिकाका निवर्तमान मेयरसमेत रहेका बालेनले प्रयोग गरिरहेको करोडौँ मूल्यको ‘ल्यान्ड रोभर डिफेन्डर’ गाडीले उनको राजनीतिक छविमाथि गम्भीर प्रश्न उठाएको छ ।

पुराना राजनीतिक शक्तिले देश लुटेर गरिब बनाएको आरोप लगाउँदै आएका बालेन स्वयं महँगो विलासी गाडी प्रयोग गर्दै हिँड्नु कत्तिको नैतिक हो भन्ने प्रश्न सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म उठिरहेको छ । तर, विवाद चर्किँदै जाँदा पनि बालेन मिडियासँग खुलेर बोल्न सकेका छैनन् ।

आलोचना सामना गर्नुभन्दा कार्यक्रम रद्द गर्ने, प्रश्नबाट पन्छिने र ‘सुटुक्क’ हिँड्ने उनको शैलीले वैकल्पिक राजनीतिमाथि नै अविश्वास बढाएको विश्लेषकहरूको निष्कर्ष छ । सामाजिक सञ्जालमा भने उनका समर्थकहरू आलोचनालाई ‘पुरानो शक्तिको षड्यन्त्र’ भन्दै टार्ने प्रयासमा देखिएका छन् ।

विश्लेषकहरूका अनुसार उद्योगी कमल मालपानीले चुनावी प्रचारका लागि उपलब्ध गराएको भनिएको गाडीले बालेनको राजनीतिक व्यवहार र नाराबीचको खाडल उजागर गरेको छ । पारदर्शिता, सादगी र जवाफदेहिताको कुरा गर्ने नेताको जीवनशैली र व्यवहारमै प्रश्न उठ्नु वैकल्पिक राजनीतिका लागि घातक सन्देश भएको उनीहरूको भनाइ छ ।

झापा क्षेत्र नम्बर ५ मा बालेनको मुख्य प्रतिस्पर्धा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छ । सो क्षेत्रमा प्रयोग गरिएको बागमती प्रदेश ०१–०३३ च ४३४३ नम्बरको कालो ‘ल्यान्ड रोभर डिफेन्डर’ गाडी चुनावी बहसको केन्द्र बनेको छ । संयोगवश, ओली पनि शुक्रबार विराटनगर विमानस्थल हुँदै काठमाडौं फर्किएका थिए ।

‘अरू नेताले देश लुटे’ भन्ने बालेनकै दाबीमाथि अहिले नैतिकताको प्रश्न उठिरहेको छ । आफूलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्ने नेताबाट आलोचनाको सामना गर्ने साहस अपेक्षित हुने विश्लेषकहरू बताउँछन् । तर, हालको व्यवहारले असहज प्रश्नबाट पन्छिने प्रवृत्ति मात्रै देखाएको उनीहरूको टिप्पणी छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार