झापामा चाइनिज पेस्तोलसहित तीनजना पक्राउ, काठमाडौँ घटनासँग जोडिएको आशङ्का

मंगलबार, ०९ मंसिर २०८२

झापा: काठमाडौँमा Gen-Z आन्दोलनका क्रममा महानगरीय प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी तथा हातहतियार र गोलीगठ्ठा लुटपाट घटनामा संलग्न रहेको आरोपमा झापाको दमकका एक युवकलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार दमक–८ निवासी २५ वर्षीय सरोज पुरीले काठमाडौँ महानगरीय प्रहरी कार्यालयबाट टाईप–५४ पेस्तोल एक थान, म्याग्जिन एक थान र १५ राउन्ड गोली लुटेर फरार भएका थिए।

घटनापछि उनी आफ्नै वतन झापा आएर लुकिछिपी बसेको सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो, इकाई कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले दमक–८ स्थित एभरेस्ट बोर्डिङ स्कुल नजिकैबाट पक्राउ गरेको हो।

पुर्लाई नियन्त्रणमा लिएपछि उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको प्रहरीले जनाएको छ।


सहयोगीहरू पनि पक्राउ

प्रारम्भिक सोधपुछमा सरोज पुरीले हतियार दमक–६ निवासी २९ वर्षीय विश्व लिङदेनलाई राख्न दिएको बताएका थिए। सोही आधारमा प्रहरी टोलीले लिङदेनलाई पनि घरमै लुकिरहेको अवस्थामा नियन्त्रणमा लियो।

लिङदेनको बयानपछि प्रहरीले इलाम चुलाचुली–४ निवासी २७ वर्षीय पवन हाईसुरुम्बालाई समेत खोजी गरी नियन्त्रणमा लिएको छ।

 उनले आफ्नै बारीमा खाल्डो खनेर कपडाको झोलाभित्र लुकाइ राखेको चाइनिज टाईप–५४ पेस्तोल एक थान र ५ राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद पेस्तोलमा खिया लागेको र गोली समेत लोड अवस्थामा फेला परेको बताइएको छ।

तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


काठमाडौँ प्रहरीसँग समन्वय

घटना स्थल काठमाडौँ भएकाले जिल्ला प्रहरी परिसर काठमाडौँसँग आवश्यक समन्वय जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबै व्यक्तिमाथि विद्यमान कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने पनि प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार