झापा : डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) झापाको कार्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
बिर्तामोड नगरपालिका वडा नम्बर ६ बुट्टावारीमा निर्माण गरिएको नवनिर्मित भवन डिनका केन्द्रीय अध्यक्ष कामेश्वर सिंह र जग्गादाता गोपिकृष्ण प्रसाईले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कोशी प्रदेश सरकारको १ करोड ८ लाख रुपैयाँको बजेटमा डिन झापाको आठ कोठे भवन निर्माण गरिएको हो। स्वर्गीय जयन्द्र र धनमाया प्रसाईको स्मृतिमा छोरा–बुहारी गोपिकृष्ण र टिकादेवी प्रसाईले २०७१ साल फागुन ३ गते एक कठ्ठा जग्गा निःशुल्क रुपमा डिन झापालाई गरेका थिए। सोही जग्गामा भवन निर्माण गरिएकोछ । आर्थिक वर्ष २०७९–८० मा ५० लाख र ०८१–८२ मा ५८ लाख रुपैयाँ बजेट निकासा भएपछि शहरी विकास तथा भवन डिभिजन कार्यालयले ठेक्का लगाएर भवन निर्माण सम्पन्न गरिदिएको डिन झापाका अध्यक्ष सडकलाल राजवंशीले जानकारी दिए।
कोशी प्रदेशमा सुनसरीपछि डिन झापाले पहिलोपटक आफ्नै कार्यालय भवन बनाएको समेत अध्यक्ष राजवंशीले बताए। काठमाण्डौँमा केन्द्रीय कार्यालय रहेको छ भने झापा, सुनसरी र दाङमा मात्र जिल्ला शाखाहरूको आफ्नै भवन रहेको केन्द्रीय अध्यक्ष सिंहले जानकारी दिए।
भवन उद्घाटन समारोह डिन झापाका अध्यक्ष राजवंशीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा बिर्तामो नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले प्रसाई परिवारले वडा कार्यालयका लागि ३ कठ्ठा जग्गा दान गरेको स्मरण गर्दै प्रशंसा गरे।
डिनका कोशी प्रदेश उपाध्यक्ष नारायण भट्टराईले लामो प्रयासपछि जग्गा र कार्यालय भवन निर्माण सफल भएको उल्लेख गर्दै, जग्गादाता प्रसाई परिवारप्रति आभार व्यक्त गरे। जग्गादाता गोपिकृष्ण प्रसाईले आफ्नो योगदान सदुपयोगमा आएकोमा धन्यवाद व्यक्त गरे। सोही अवसरमा जग्गादातालाई सम्मान गरियो ।
प्रतिक्रिया