काठमाडौं : पश्चिम नेपालबाट आज अपराह्नदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार सुदूरपश्चिमसँगै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । पछिल्लो तीन घण्टामा बैतडीको शतबाँजमा १० मिलिमिटर वर्षा मापन भएको छ भने दार्चुलामा पाँच, डडेलधुरामा ९.४, डोटीमा सात, कञ्चनपुरमा ०.८ र कैलालीमा ०.४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ, तर राति बदली क्रमशः फैलिने अनुमान गरिएको छ ।
आज देशकै सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ६.९ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै जोमसोममा माइनस तीन र जिरीमा माइनस ०.९ डिग्री तापक्रम रहेको छ ।
विभागले जारी गरेको साँझको बुलेटिनअनुसार आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात वा वर्षा हुन सक्ने जनाइएको छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित असिना पर्ने जोखिमसमेत रहेको विभागले जनाएको छ । यसले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य, साथै हवाई र सडक यातायातमा प्रभाव पार्न सक्ने भएकाले विभागले नियमित रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनामा ध्यान दिन सबैलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया