काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मङ्गलवार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गराएका ३ हजार ४८६ उम्मेदवारमध्ये ५ जनाविरुद्ध मात्र उजुरी दर्ता भएको छ।
देशभरका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दर्ता गर्न समय तोकिएको थियो। प्रारम्भिक विवरणअनुसार ५ वटा उजुरी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।
उनका अनुसार भक्तपुर–२ मा २ जना, सुनसरी–२ मा १ जना, रौतहट–१ मा १ जना र कैलाली–१ मा १ जना उम्मेदवारविरुद्ध उजुरी परेको छ। उजुरी परेका उम्मेदवारहरूमा भक्तपुरमा राजीव खत्री र जानुका पाठक, सुनसरीमा लालविक्रम थापा, रौतहटमा माधव कुमार नेपाल र कैलालीमा रेशम चौधरी रहेका छन्।
सुनसरी क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लालविक्रम थापाविरुद्ध स्थानीय सत्य नारायण पण्डितले दाबी–विरोधसहित उजुरी दिएका हुन्। उजुरीमा थापाले विद्यालयको लाखौँ रुपैयाँ बक्यौता राखेको र उक्त रकम हालसम्म राफसाफ नगरेको आरोप लगाइएको छ।
यसैगरी रौतहट–१ मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको उम्मेदवारीविरुद्ध उजुरी परेको छ। सोही क्षेत्रका उम्मेदवार राम नरेश राय यादवले पतञ्जलि जग्गा प्रकरणमा मुछिएको भन्दै नेपाल उम्मेदवार बन्न अयोग्य रहेको दाबी गर्दै उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका हुन्। निर्वाचन आयोग स्रोतले उजुरी परेको पुष्टि गरेको छ।
कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका रेशम चौधरीविरुद्ध पनि दाबी–विरोधमा उजुरी परेको छ। सर्वोच्च अदालतबाट जन्मकैदको फैसला भइसकेको अवस्थामा उम्मेदवारी दर्ता गर्न नमिल्ने भन्दै उजुरी दर्ता गरिएको हो। निर्वाचन अधिकृतको कार्यालयले भोलि बिहान १० बजे उजुरीका पक्षमा प्रमाण पेश गर्न जानकारी गराएको छ।
भक्तपुर–२ मा रास्वपाका उम्मेदवार राजीव खत्रीविरुद्ध नेपाल स्काउटको ९५ हजार रुपैयाँ बेरुजु बाँकी रहेको आरोप लगाइएको छ। त्यस्तै, नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठकविरुद्ध नागरिकताको प्रतिलिपिमा फरक विवरण रहेको भन्दै नवीन कुमार महतले उजुरी दर्ता गराएका छन्।
प्रतिक्रिया