काठमाडौँ :गत भदौ २३ गते संसद् भवनमा शव लुकाइएको भ्रामक सूचना सामाजिक सञ्जालमा फैलिएको थियो। यसले संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन र अन्य सार्वजनिक तथा सुरक्षा भवनमा तोडफोड भयो।
गृह मन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा अधिकारीहरूले आगामी निर्वाचन अवधिभर सामाजिक सञ्जालको दुरुपयोग बढ्न सक्ने जानकारी दिएका थिए। त्यसअनुसार निर्वाचनअघि, अवधिमा र पछिका लागि प्रभावकारी निगरानी र नियन्त्रण प्रणाली तयार पार्ने तयारी भइरहेको छ।
बैठकमा गृह र रक्षा मन्त्रालयका सचिव तथा चारवटै सुरक्षा निकायका प्रमुख सहभागी थिए। बैठकले केन्द्रदेखि जिल्ला निर्वाचन क्षेत्रसम्मका सुरक्षा संयन्त्र सक्रिय पार्ने, साइबर सुरक्षा सुदृढ गर्ने र भ्रामक सूचना रोक्न कडा कारबाही सुनिश्चित गर्ने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ।
केन्द्रीय सुरक्षा समितिले आगामी निर्वाचनलाई लक्षित गरी एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ तयार पारिएको र कार्यान्वयन भइरहेको जानकारी दिएको छ।
यस योजनाअन्तर्गत चारवटै सुरक्षा निकाय संयुक्त रूपमा परिचालन हुनेछन्। जिल्ला तहदेखि वडा तहसम्म समन्वय गर्ने, सुरक्षा पोस्टमा आइटी विज्ञ राख्ने र साइबर सुरक्षा ब्युरोलाई थप सक्रिय बनाउने निर्णय पनि बैठकले गरेको छ।
साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारीले सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकार, सरोकारवाला निकाय र बौद्धिक वर्गको सहकार्य आवश्यक भएको बताए।
उनले भने, “कतिपय उम्मेदवारले प्रतिस्पर्धीविरुद्ध भ्रामक सन्देश प्रवाह गर्न सुरु गरिसकेका छन्। निर्वाचन आयोगले समयमै सचेत गराउने र कारबाही तीव्र बनाउने आवश्यक छ।”
प्रतिक्रिया