सुनसरी : नेकपा (संयुक्त) ले सुनसरीका तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ।
नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुषालको नेतृत्वमा रहेको पार्टीले सुनसरी–१, २ र ४ मा उम्मेदवार अघि सारेको हो।
पार्टीका अनुसार सुनसरी–१ बाट श्यामनारायण राजधामी, सुनसरी–२ बाट विद्यार्थी नेता अतितकिरण नेपाल र सुनसरी–४ बाट सत्यनारायण आहुतियाले उम्मेदवारी दर्ता गरेका छन्।
सुनसरी–२ का उम्मेदवार अतितकिरण नेपाल नेकपा (संयुक्त) का जिल्ला सचिवसमेत हुन्। उनी सोही संगठन अन्तर्गतको अखिल नेपाल विद्यार्थी फेडेरेसनका कोशी प्रदेश संयोजकको जिम्मेवारीमा पनि छन्।
विद्यार्थी राजनीति गर्दै आएका नेपालले पार्टीको साख जोगाउनका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्। देशभर युवाहरूको जनलहर बढिरहेको उल्लेख गर्दै उनले परिवर्तनका लागि भए पनि मतदान गर्नुपर्ने तर्क प्रस्तुत गरेका छन्।
उनले पुरानो भ्रष्ट दलतन्त्रबाट उन्मुक्ति दिलाउँदै नयाँ भनिएका विचारहीन भीडको हातमा देश पुग्न नदिन पनि आफ्नो उम्मेदवारी रहेको दाबी गरे।
नेकपा (संयुक्त) ले वैकल्पिक राजनीतिक धार प्रस्तुत गर्दै जनताको मुद्दालाई केन्द्रमा राखेर निर्वाचनमा प्रतिस्पर्धा गर्ने जनाएको छ।
प्रतिक्रिया