सुनसरी : नेपाली काँग्रेसले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि क्षेत्रीय सभापति सुजेन्द्र तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
टिकटका लागि सुनसरी–१ मा धेरै आकांक्षीबीच प्रतिस्पर्धा रहे पनि पार्टीले अन्ततः तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
तामाङ काँग्रेसका नेता शेखर कोइराला निकट मानिने तामाङ विशेष महाधिवेशनका क्रममा गगन थापा पक्षमा खुलेका थिए। महाधिवेशन सफल बनाउन उनले सुनसरी–१ का महाधिवेशन प्रतिनिधिहरूलाई भेला पार्नेदेखि व्यवस्थापनसम्मको जिम्मेवारी सम्हालेका थिए।
प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फका लागि यसअघि कोशी प्रदेश महामन्त्री उमेश थापा, महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा, क्षेत्रीय सल्लाहकार निर्मला गुरुङ, जिल्ला सचिव माधवबहादुर घिसिङ, केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, नेपाल महिला सङ्घ जिल्ला सदस्य रुक्मिना गौतम (कोपिला), महासमिति सदस्य विनोदकुमार राई तथा महाधिवेशन प्रतिनिधि सन्दीप श्रेष्ठलगायतको नाम सिफारिस गरिएको थियो।
तामाङले भने आफ्नो नाम आफै सिफारिस गरेका थिएनन् । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकाका केही वडा पर्दछन्।
टिकट पाएपछि फेसबुकमा स्ट्याटस लेख्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसको चुनाव चिह्न ‘रुख’ मा अमूल्य मत प्रदान गरी आफूलाई इमानदार सेवकका रूपमा काम गर्ने अवसर दिन तामाङले मतदातासँग आग्रह गरेका छन्।
प्रतिक्रिया