काठमाडौँ : नेपाली काँग्रेसले इलाम क्षेत्र नम्बर २ मा भेषराज आचार्यलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ ।
भोलि हुने उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा काँग्रेसले धमाधम उम्मेदवार टुङ्ग्याइरहेको छ ।
यही क्रममा पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा बसेको छलफलपछि आचार्यलाई इलाम–२ को टिकट दिइएको काँग्रेस स्रोतले जनाएको छ ।
इलाम–२ मा गत २०८१ वैशाखमा सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका थिए ।
उक्त निर्वाचनमा काँग्रेसले डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएको थियो । नेम्वाङले २७ हजार ७७२ मत ल्याउँदा खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए ।
यसपटक भने काँग्रेसले उम्मेदवार परिवर्तन गर्दै भेषराज आचार्यलाई अघि सारेको हो ।
आचार्य यसअघि २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा पनि काँग्रेसका तर्फबाट इलाम–२ बाट उम्मेदवार बनेका थिए । सो निर्वाचनमा उनी सुवास नेम्वाङसँग पराजित भएका थिए ।
२०७० को संविधानसभा निर्वाचनमा आचार्यले १२ हजार ८२८ मत प्राप्त गर्दा नेम्वाङले १४ हजार ९३० मत ल्याएका थिए ।
काँग्रेसले इलाम–२ लाई प्रतिष्ठाको विषयका रूपमा लिँदै अनुभवी र परिचित अनुहारलाई मैदानमा उतारेको बताइएको छ ।
प्रतिक्रिया