काठमाडौँ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीको बन्दसूचीबाट ८५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन आयोगका अनुसार सोमबार साँझ साढे ७ बजेसम्म १७ वटा राजनीतिक दलका ८५ जनाले समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिन निवेदन दिएका छन्। निर्वाचन आयोगकी सहायक प्रवक्ता सिता पुनले उक्त जानकारी दिएकी हुन्।
उनका अनुसार नाम फिर्ता लिनेहरूमा जनमत पार्टी, नेकपा (एमाले), जसपा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलका उम्मेदवार रहेका छन्।
आयोगका अनुसार सबैभन्दा धेरै जनमत पार्टीबाट २० जनाले उम्मेदवारी फिर्ता लिएका छन्। “नाम फिर्ता लिने प्रक्रिया अझै जारी छ। केही घण्टापछि आयोगले विज्ञप्तिमार्फत विस्तृत विवरण सार्वजनिक गर्नेछ,” सहायक प्रवक्ता पुनले बताइन्।
समानुपातिक निर्वाचन प्रणालीतर्फ ६४ वटा दलले बन्दसूची पेस गरेका थिए। पुस १३ र १४ गते बन्दसूची पेस गर्न समय तोकिएको थियो भने सोमबार बन्दसूचीबाट नाम फिर्ता लिने अन्तिम मिति तोकिएको थियो।
प्रतिक्रिया