नेपाली काँग्रेसको विशेष महाधिवेशनमा दुई करोड खर्च

सोमबार, २८ पुस २०८२

काठमाडौँ : काठमाडौँमा जारी नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनको खर्च करिब दुई करोड रुपैयाँ हुने अनुमान गरिएको छ।

आइतबारदेखि सोमबारसम्म सञ्चालन हुने भनिएको विशेष महाधिवेशन एक दिन थप भई मङ्गलवारसम्म चल्ने भएपछि कुल तीन दिन सञ्चालन हुने व्यवस्थापन समितिले जनाएको छ।

विशेष महाधिवेशन व्यवस्थापन समितिका संयोजक अमर सिंह पुनका अनुसार तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनको कुल खर्च दुई करोड रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ। उनले महाधिवेशनको खर्चमा प्रतिनिधिहरूका लागि झोला, खान–बस्न तथा प्रचारप्रसार सामग्रीलगायतका व्यवस्थापन खर्च समावेश रहेको बताए।

महाधिवेशनमा ७७ वटै जिल्लाबाट नेता–कार्यकर्तासहित करिब तीन हजार जनाको सहभागिता रहेको व्यवस्थापन समितिले जनाएको छ। ती प्रतिनिधिहरूका लागि १२ सय कोठा चार दिनका लागि बुक गरिएको छ।

महाधिवेशनमा सहभागी प्रत्येक प्रतिनिधिबाट एक हजार रुपैयाँ शुल्क लिइएको र बढी सहयोग गर्न सक्ने प्रतिनिधिहरूले पाँच हजारदेखि पाँच लाख रुपैयाँसम्म स्वेच्छिक आर्थिक सहयोग गरेको संयोजक पुनले जानकारी दिए।

उनले भने, “हामीले कसैसँग पनि जबरजस्ती खर्च मागेका छैनौँ। महाधिवेशनमा सहभागी साथीहरूले आफूले सक्ने क्षमताअनुसार सहयोग गरिरहेका छन्। कसैलाई पनि तोकेर यति नै सहयोग गर्नुपर्छ भनेर भनिएको छैन।”

व्यवस्थापन समितिले सुरुमा दुई दिनसम्मको खर्च व्यवस्थापन गरे पनि महाधिवेशन एक दिन थपिएपछि खर्च बढ्ने अवस्था आएको पुनले बताए। “हामीले दुई दिनसम्म खान–बस्नको व्यवस्थापन गरेका थियौँ। एक दिन थप भएपछि खर्च बढ्ने भएकाले केही प्रतिनिधिहरूसँग आर्थिक सहयोगका लागि अनुरोध गरेका छौँ,” उनले भने।

महाधिवेशनमा सहभागी प्रत्येक प्रतिनिधिका लागि प्रतिदिन एक हजारदेखि १२ सय रुपैयाँसम्म पर्ने कोठाको व्यवस्था गरिएको छ।

संयोजक पुनका अनुसार दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनमा खानाको खर्च करिब ५५ लाख रुपैयाँ र कोठा व्यवस्थापनमा करिब ५० लाख रुपैयाँ लाग्ने अनुमान थियो। प्रचारप्रसार सामग्रीसहित कुल खर्च डेढ करोड रुपैयाँ पुग्ने अनुमान गरिए पनि एक दिन थपिएपछि खान र बस्नसमेत जोड्दा खर्च दुई करोड रुपैयाँसम्म पुग्ने देखिएको छ।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई बिहान र साँझ महाधिवेशन स्थलमै भण्डारा शैलीमा खानाको व्यवस्था गरिएको छ। व्यवस्थापनप्रति सहभागी प्रतिनिधिहरू सन्तुष्ट देखिएका छन्।

बाराका प्रतिनिधि प्रमोद यादवले आयोजकले प्रतिनिधिहरूका लागि खान र बस्न राम्रो व्यवस्था गरेको बताए। “प्रत्येक प्रतिनिधिबाट एक हजार रुपैयाँ शुल्क लिए पनि त्यसअनुसारको व्यवस्थापन राम्रो छ,” उनले भने।

सिन्धुलीका प्रतिनिधि कप्रेन्द लामा अनुसार अघिल्ला महाधिवेशनहरूमा तीन हजार रुपैयाँसम्म शुल्क लिइने गरेकामा यसपटक एक हजार रुपैयाँ मात्र लिइएकाले प्रतिनिधिहरूलाई सहज भएको छ।

खानाको व्यवस्थापनतर्फ बिहान र साँझ सादा तथा कहिले चिकेन खाना उपलब्ध गराइने गरिएको छ। बिहानको खाजामा पुरी–तरकारीको व्यवस्था गरिएको भए पनि दिउँसो खाजाको व्यवस्था भने गरिएको छैन।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार