काठमाडौँ : नेपाली काँग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागबमोजिम महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको विशेष महाधिवेशनको माहौल झनै बलियो बन्दै गएको छ । पार्टीको आधिकारिक निर्णयमार्फत विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्षसहित प्रतिनिधिलाई सहभागी नहुन ह्विप जारी गरिए पनि त्यसको उल्लेख्य प्रभाव देखिएको छैन ।
केही दिनअघिसम्म विशेष महाधिवेशनभन्दा समयमै नियमित महाधिवेशनको पक्षमा उभिएका धेरै नेताहरू नियमित महाधिवेशन सारिएसँगै विशेषकै भेलामा मिसिएका छन् । शुक्रवार संस्थापनइतर समूहका नेताहरू डा. चन्द्र भण्डारी र डा. सुनिल शर्माले विशेष महाधिवेशनस्थलको अवलोकन गर्दै विशेषकै पक्षमा उभिएको सन्देश दिएका छन् ।
सोही क्रममा महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले पार्टी विधानअनुसार नै विशेष महाधिवेशन आह्वान गरेको दाबी गर्दै थप करिब ५ सय प्रतिनिधि बढ्ने बताएका छन् । ‘विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ५४ प्रतिशतमध्ये २४ जनाले नाम फिर्ता लिएका छन् भने करिब ५ सय जना महाधिवेशन प्रतिनिधि थपिँदै छन्,’ उनले भने ।
विशेष महाधिवेशनको पक्षमा कोशी प्रदेशबाट ४ सय ६९, मधेश प्रदेशबाट ४ सय १९, बागमतीबाट ४ सय १९, गण्डकीबाट २ सय ५९, लुम्बिनीबाट ३ सय ८५, सुदूरपश्चिमबाट १ सय ४०, कर्णालीबाट १ सय ३७ तथा शुभेच्छुक, भ्रातृ र विदेश सम्पर्क समितिबाट १ सय ८७ गरी कुल २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् । विशेष महाधिवेशनको तयारी अघि बढेसँगै कोशी, मधेश र बागमती प्रदेशबाट प्रतिनिधि सङ्ख्या अझै बढ्ने क्रममा रहेको बताइएको छ ।
यहीबीच देशभरका ३८ जिल्ला सभापतिले समेत विशेष महाधिवेशनको पक्षमा लिखित आह्वान गरेका छन् । बाँकी कतिपय जिल्लामा उपसभापति र सचिवहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशनको समर्थन जनाएका छन् । संस्थापन पक्षका २५ जना केन्द्रीय सदस्यले समेत विशेष महाधिवेशन विधिसम्मत भएकाले पार्टीले यसलाई ग्रहण गर्नुपर्ने भन्दै नेतृत्वमाथि दबाब बढाएका छन् । नेतृ डा. डिला सङ्ग्रौलाले विशेष महाधिवेशनविरुद्ध उभिनुभन्दा यसलाई स्वीकार गरेर समस्या समाधानका नयाँ कोणबाट छलफल गर्नुपर्ने बताइन् ।
संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेर विवाद समाधानका लागि पहल गर्न सुझाएका छन् । विशेष महाधिवेशनलाई स्वीकार गर्दै पार्टीको आधिकारिक सहभागितामा ‘सङ्कल्प महाधिवेशन’का रूपमा लैजान सकिने मध्यमार्गी उपाय खोज्न उनले देउवामाथि दबाब दिँदै आएको उनको सचिवालयले जनाएको छ । सभापति देउवाले पनि पार्टी विभाजन हुन नदिने प्रयास जारी राख्ने बताएका छन् ।
विशेष पक्ष र विशेष रोक्ने पक्षबीच आवश्यक संवाद निरन्तर भइरहेको नेता प्रदीप पौडेलको भनाइ छ । तर केही नेताहरू अझै मिलाउने पक्षमा नदेखिएको उनले बताए । ‘विधानले दिएको विशेष महाधिवेशन रोक्न आवधिक महाधिवेशन समयमै गर्नुपर्थ्यो,’ उनले भने, ‘समयमै नियमित महाधिवेशन नभएपछि ५४ प्रतिशत प्रतिनिधिले बोलाएको विशेष महाधिवेशनलाई पार्टीले ग्रहण गर्नुपर्थ्यो, तर त्यसो हुन सकेन । अब विशेष महाधिवेशनको विकल्प बाँकी छैन ।’
संस्थापन पक्षका शीर्ष नेताहरूले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै तल्लो तहका नेता–कार्यकर्तालाई फोनमार्फत सहभागी नहुन आग्रह गरिरहेका छन् । विशेष महाधिवेशन गर्ने र रोक्नेबीच दूरी बढ्दै गए पनि शीर्ष तहमा समन्वयात्मक छलफल भने जारी छ । तर पूर्वपदाधिकारीहरू विशेष महाधिवेशनमा जति सक्दो प्रतिनिधि रोक्दै बहुमत पुग्न नदिने रणनीतिमा देखिएका छन् । यद्यपि त्यो प्रयास सफल नहुने अवस्था बन्दै गएको विशेष पक्षका नेताहरूको दाबी छ ।
विशेष महाधिवेशन पक्षका नेता सुवास पोखरेलका अनुसार देशभरबाट विशेषको पक्षमा प्रतिनिधि सङ्ख्या बढ्दै गएको छ । ‘पार्टी फुट्छ भन्ने हल्ला चलाएर प्रतिनिधि रोक्ने अनेक प्रयास भए पनि ती असफल भएका छन् । विशेष महाधिवेशनको पक्षमा माहौल व्यापक बन्दै गएको छ,’ उनले भने ।
पार्टी सभापति देउवा र उनको पक्षले विशेष महाधिवेशनको मागलाई औपचारिक एजेन्डा नबनाएपछि महामन्त्री द्वय थापा र शर्मा विशेषको पक्षमा बलियोसँग उभिएका छन् । पार्टीले १५औँ आवधिक महाधिवेशन वैशाख २७–३० सम्म गर्ने कार्यतालिका सार्वजनिक गरे पनि असोज २९ गते विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाएका नेताहरूले उक्त निर्णय अस्वीकार गरेका छन् ।
नेपाली काँग्रेसका २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरेपछि पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने तयारी गरिएको छ । विधानअनुसार माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन नबोलाइएपछि पुस २३ गते उनीहरूले आफैँ महाधिवेशन आह्वान गरेका हुन् ।
विशेष महाधिवेशनको सबै तयारी अन्तिम चरणमा पुगेको आयोजक पक्षले जनाएको छ । मञ्च व्यवस्थापन, प्रतिनिधि तथ्याङ्क सङ्कलन, स्वयंसेवक तथा मिडिया सेन्टर व्यवस्थापन, सांस्कृतिक कार्यक्रम र प्रतिनिधि आवागमनका रुटसमेत तय भइसकेको छ ।
यता कार्यसम्पादन समितिको अपिल बेवास्ता गर्दै महामन्त्री थापा–शर्मासहित विशेष पक्षधरले तयारी तीव्र बनाएपछि संस्थापनतर्फबाट शुक्रवार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्ने तयारी गरेका थिए । तर नेता शेखर कोइराला उक्त कार्यक्रममा नजाने भएपछि पत्रकार सम्मेलन स्थगित गरिएको छ । खड्का सहमति खोज्ने प्रयासमा रहेको उनीनिकट नेताहरूले बताएका छन् ।
प्रतिक्रिया