काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका छन् । शनिबार सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकमा उनले निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका हुन् ।
अध्यक्ष ओलीले हाल निर्वाचनको वातावरण पूर्ण रूपमा नबनेको स्वीकार गर्दै पनि मुलुक निर्वाचनमा जानैपर्ने बताए । उनले नेताहरूलाई विभिन्न लाञ्छना लगाउने, आरोप थोपर्ने र फसाउने प्रयासहरू अझै जारी रहेको उल्लेख गर्दै सरकार भयरहित निर्वाचनको वातावरण बनाउन असफल भएको आरोप लगाए ।
विभिन्न बहानामा निर्वाचन सार्ने वातावरण सिर्जना भइरहेको दाबी गर्दै उनले सरकारले फागुन २१ गते नै निर्वाचन गर्नुपर्ने स्पष्ट माग गरे । साथै, निर्वाचनसम्बन्धी अन्य निर्णयहरू पनि न्यूनतम राजनीतिक सहमतिका आधारमा मात्रै गर्न सरकारलाई सुझाव दिए ।
उनले भने,‘अहिले पनि निर्वाचनको वातावरण बनेको छैन । राजनीतिक दलका नेताहरूमाथि लाञ्छना लगाउने, आरोप थोपर्ने र फसाउने प्रयासहरू रोकिएको छैन । हामीले सर्वदलीय छलफल तथा सरकारका प्रतिनिधिसँगको संवादमा पनि यी विषय उठाइरहेका छौँ । तर अझै निर्वाचनको सुनिश्चितता र निर्भय वातावरण बनेको छैन । ढिलोचाँडो मुलुक निर्वाचनमा जानैपर्छ, त्यसका लागि पार्टी सधैँ तयार छ ।
केन्द्रीय समितिको यो बैठकले सिङ्गो पार्टी पङ्क्तिलाई निर्वाचनका लागि सधैँ तम्तयार रहन आह्वान गर्दछ । निर्वाचन जतिबेला भए पनि हामी सहभागी हुन्छौँ । फागुन २१ गते नै हुन पनि सक्छ । तर चरण–चरणमा निर्वाचन गर्ने जस्ता खेल स्वीकार्य छैनन् । निर्वाचन एकै चरणमा हुनुपर्छ र न्यूनतम राजनीतिक सहमतिका आधारमा निर्णय गर्नुपर्छ । स्वेच्छाचारी र अराजक ढङ्गले निर्णय हुन नदिन हामी चनाखो हुनुपर्छ ।’
अध्यक्ष ओलीले समानुपातिक निर्वाचनका लागि पार्टीले सर्वसम्मत रूपमा बन्दसूचीमा नाम सिफारिस गरिसकेको जानकारी पनि दिए । त्यस्तै, प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्दा एकल सिफारिसका नाममा तल्लो कमिटीमा केही विवाद देखिएको उल्लेख गर्दै उनले पार्टी निर्देशनअनुसार काम गर्न र अनावश्यक विवाद सिर्जना नगर्न आग्रह गरे ।
प्रतिक्रिया