तनहुँमा तीन जनाको विभत्स हत्या

शनिबार, २६ पुस २०८२

तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्र नजिक तीन जनाको हत्या भएको खुलासा भएको छ। शनिवार बिहान दुई जना पुरुष र केही घण्टापछि एक जना महिला मृत अवस्थामा फेला परेपछि क्षेत्र तनावग्रस्त बनेको छ।

इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार शनिवार बिहान करिब साढे ९ बजे प्रशोधन केन्द्रका एक कर्मचारीले दुई जना पुरुष मृत अवस्थामा भेटिएको सूचना दिएका थिए। प्रहरी टोली घटनास्थल पुग्दा प्रशोधन केन्द्रको कम्पाउन्ड बाहिर दुई पुरुषको शव फेला परेको र प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रयोग भएको देखिएको छ।

मृतकमध्ये एक जना शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछाप निवासी करिब ४० वर्षीय नारायण विक रहेको खुलेको छ। उनी शुक्लागण्डकी नगरपालिकासँग सम्झौता गरी प्रशोधन केन्द्र सञ्चालन गरिरहेको ग्रिन रोड प्रालिका कर्मचारी थिए।

उनी यसै महिनादेखि प्रशोधन केन्द्रमै बस्दै काम गरिरहेका थिए भने करिब तीन महिनादेखि त्यहाँ कार्यरत थिए। अर्का पुरुषको पहिचान हालसम्म खुल्न सकेको छैन।

दुई पुरुष मृत भेटिएपछि उनीहरूसँगै बस्दै आएकी एक महिला सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो। खोजतलासका क्रममा शनिवार दिउँसो करिब १२ बजे ती महिला पनि मृत अवस्थामा फेला परेकी हुन्।

उनको शव पुरुषहरू भेटिएको स्थानबाट करिब सात सय मिटर टाढा कसेरीघाटको जङ्गल क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार महिला र पहिचान नखुलेका पुरुष बजार क्षेत्रबाट सङ्कलन गरिएको फोहोर छानेर कवाडी सङ्कलन गरी जीवनयापन गर्दै आएका र करिब एक वर्षदेखि सोही टहरामा बस्दै आएका थिए।

शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घबहादुर थापाका अनुसार तीनै जनाको शव अत्यन्त गम्भीर अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले घटनाको प्रकृति गम्भीर रहेको र योजनाबद्ध हत्या हुन सक्ने प्रारम्भिक सङ्केत देखिएको बताए।

घटनाको सत्य तथ्य पत्ता लगाउन जिल्ला प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली परिचालन गरिएको छ।

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठका अनुसार गण्डकी प्रदेश प्रहरीको प्राविधिक टोली र तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थलमा खटिएर प्रमाण सङ्कलन तथा अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीसहितको टोलीले पनि घटनास्थलको अनुगमन गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार