संखुवासभा : संखुवासभामा धारिलो हतियार प्रहार गरी एक जना पुरुषको हत्या भएको छ ।
खाँदबारी नगरपालिका–९ सालबिसाउने टोलमा आज (मंगलबार) साँझ एक जनाको हत्या भएको हो ।
प्रहरीका अनुसार स्थानीय विक्रम कुमालले कर्णबहादुर कुमालको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी कुमारप्रसाद मैनालीका अनुसार विमानस्थल सुरक्षागार्ड तुम्लिङटारले साँझ करिब ७ बजे हत्या भएको जानकारी पाएको थियो ।
जानकारीलगत्तै प्रहरी नायव निरीक्षक देवीबहादुर कार्कीको कमाण्डमा टोली खटिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।
डीएसपी मैनालीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा धारिलो हतियार प्रयोग गरी हत्या भएको पाइएको छ ।
डिएसपी मैनालीका अनुसार, पक्राउ परेका व्यक्तिले हत्या गरेको स्वीकार गरेका छन् । तर, हत्या गर्न पछाडिको कारण सोध्दा उनले कुनै उत्तर नदिएको मैनालीले बताए ।
प्रहरीका अनुसार, आरोपी र मृतक एकै स्थानका छिमेकी भएकोले व्यक्तिगत विवादका कारण हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।
घटनास्थलमा आवश्यक अनुसन्धान जारी राख्दै शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया