काठमाडौं । काठमाडौं महानगरपालिका–६, बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीका गहना चोरी गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको टोलीले नेपालगञ्ज घर भएका प्रेम थारुलाई गएराति नागार्जुन नगरपालिकाको महांकालबाट नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि प्रहरीले खुट्टामा एक राउण्ड गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो । प्रहरीको गोली लागेर घाइते थारुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरी अनुसन्धानका अनुसार थारु मंगलबार दिउँसो १२ बजेतिर रिन्जी लामाको घरमा प्रवेश गरेका थिए।
घरका सदस्यहरू पाँचौँ तला र छतमा घाम तापिरहेको मौका छोपी उनी सरासर चौथो तलामा पुगेर लाखौँ मूल्य बराबरका सुन र चाँदीका गहना तथा बहुमूल्य समान चोरेका थिए । दिउँसो २ बजेतिर मात्रै चोरी भएको थाहा पाएपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए। यस विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
प्रतिक्रिया