कांग्रेस मुख्य सचिव पौडेलको राजीनामा स्वीकृत, दुलाललाई कामु जिम्मेवारी

बुधबार, २१ माघ २०८२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको राजीनामा स्वीकृत गरेका छन्। पौडेलले २०८२ माघ ८ गते दिएको राजीनामा सभापति थापाले स्वीकार गरेका हुन्।

वि।सं। २०७३ वैशाख २७ गतेदेखि नेपाली कांग्रेसको मुख्य सचिव पदमा रही पार्टीको विधान, नियमावली तथा नीतिअनुसार जिम्मेवारी निर्वाह गर्दै आएका पौडेलप्रति सभापति थापाले पार्टी तथा व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरेका छन्। साथै, उनले पौडेलको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनहरूमा पनि पार्टीप्रति उनको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरेका छन्।

त्यसैगरी, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (१०), नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ४६ (ग) तथा नेपाली कांग्रेस कर्मचारी विनियमावली २०७९ को नियम १४ (क) बमोजिम अर्को व्यवस्था नहुन्जेलसम्मका लागि केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयको कामु (का.वा.) मुख्य सचिवको जिम्मेवारी तोकिएको छ।

सभापति थापाको निर्णयअनुसार दुलालले तत्काल प्रभावबाट केन्द्रीय कार्यालयको प्रशासनिक तथा सांगठनिक कार्यभार सम्हाल्ने जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार