विराटनगर । सुनवर्षी नगरपालिका–६ कैमीका बेचनलाल गोढीको घरछेउमै धादरी (खोल्सो) छ । उनी सानै हुँदा देखेको त्यो खोल्सोमा अहिलेसम्म पुल बनेको छैन । बर्खामा बजार जान गाउँको बाटो घुम्नुपर्छ, पानी कम हुँदा खोल्सोबाटै तर्नुपर्छ ।
‘डाइरेक्ट बाटो ४–५ सय मिटर छ, तर पुल नहुँदा घुमेर आउनुपर्छ,’ उनले भने, ‘बर्खामा नानीहरू बोकेर तार्नुपर्छ, विकासको नाममा हाम्रो गाउँमा केही छैन ।’ उनी मोरङ क्षेत्र नम्बर २ का बासिन्दा हुन् ।
यो क्षेत्रले देशलाई प्रधानमन्त्री दिएको इतिहास बोकेको छ । स्वर्गीय गिरिजाप्रसाद कोइरालाले यही क्षेत्रबाट तीन पटक चुनाव जिते र तीनै पटक प्रधानमन्त्री बने । त्यसपछि पनि कांग्रेस र एमालेले पटकपटक चुनाव जिते । तर, स्थानीय नागरिकका अनुसार गाउँका आधारभूत समस्या भने उस्तै छन् । ‘गिरिजाप्रसाद कोइराला, आमोद उपाध्याय, मिनेन्द्र रिजाल र ऋषिकेश पोखरेलले जितेर गए, तर हाम्रो गाउँमा विकासको नाममा केही भएन,’ गोढी भन्छन्, ‘बजार एरियामा काम भए पनि गाउँमा काम पुगेन ।’
अलपत्र अवस्थामा रहेकाे कट्नु खाेलाकाे पुल ।
रतुवामाई नगरपालिका–६ सौठाका जयप्रसाद पौडेल भने गिरिजाप्रसाद कोइरालाको पालामा काम भएको देख्छन् । उर्लाबारी–आमबाडी सडक स्तरोन्नति र बिजुली विस्तारको काम त्यतिबेलै सुरु भएको उनी बताउँछन् । २०४८ देखि तीन कार्यकाल गिरिजाले जितेको क्षेत्रमा त्यसयता कांग्रेस र एमालेले आलोपालो जित्दै आएका छन् । तीन दशकमा सडक र बिजुली विस्तार भए पनि धेरै गाउँमा आधारभूत पूर्वाधारको अभाव भने कायम छ ।
तीन दशकदेखि कांग्रेस र एमालेको दबदबा रहेको क्षेत्र नम्बर २ मा यसपटक नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका उम्मेदवारको चर्चा गाउँगाउँमा छ । स्थानीय लक्ष्मीप्रसाद घिमिरेका अनुसार पुराना दलप्रति असन्तुष्टि बढेको छ । ‘यता अहिले ओली हराऊ अभियान जस्तै माहोल छ,’ उनले भने, ‘यहाँ ओली छैनन्, तर उनको कारण एमालेप्रति असन्तुष्टि देखिन्छ ।’
बेचनलाल गोढी पनि गाउँमा नयाँ दलको चर्चा बढेको बताउँछन् । ‘अहिले सबैतिर नयाँनयाँ भन्छन्, फेसबुकमा पनि नयाँकै चर्चा छ, हेरौं यसपालि के हुन्छ,’ उनले भने ।
रंगेली नगरपालिका–५ का देवनारायण मण्डल भने कांग्रेसले चुनाव जित्ने दाबी गर्छन् । ‘छोराहरू नयाँ र बालेन भन्छन्, हामी त कांग्रेसमै लागेका छौं, रुखमै भोट हाल्छौं,’ उनले भने । डाइनिया बजारकी सुखिया दासले भने एमालेमा मतदान गर्ने बताइन् ।
फागुन २१ को निर्वाचनका लागि कांग्रेसबाट डा. मिनेन्द्र रिजाल उम्मेदवार छन् । एमालेले रंगेलीका पूर्वमेयर दिलिप बगडियालाई उठाएको छ । २०७४ र २०७९ मा उम्मेदवार नउठाएको नेकपाले यसपटक चन्द्रवीर राईलाई मैदानमा उतारेको छ । रास्वपाबाट कृष्ण कार्की उम्मेदवार छन् । राष्ट्रिय उर्जाशील पार्टीबाट मनोज राजवंशी उम्मेदवार छन् ।
त्यसैगरी मंगोल नेशनल अर्गनाइजेसनबाट धनबहादुर लिम्बू, जनमत पार्टीबाट घनश्याम चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट माधवप्रसाद राजवंशी, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विनोदकुमार सिंह गनगाई, राष्ट्रिय परिवर्तन पार्टीबाट धनबहादुर सुनुवार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट मेघेन्द्रकुमार रोक्का, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कन्सराज राजवंशी, श्रम संस्कृति पार्टीबाट अबुहो रैरह उम्मेदवार छन् । नरेशकुमार साह, अनिलकुमार साह र बुधु ऋषिदेव स्वतन्त्र उम्मेदवार छन् ।
२०४८ देखि २०५६ सम्म यो क्षेत्र गिरिजाप्रसाद कोइरालाको अविजित किल्ला थियो । २०६४ को माओवादी लहरमा पनि कांग्रेसका आमोदप्रसाद उपाध्यायले जित निकाले । तर २०७० मा ऋषिकेश पोखरेलले पहिलोपटक कांग्रेसको किल्ला भत्काउँदै कम्युनिष्ट झण्डा फहराए । त्यसयता कांग्रेस र एमालेबीच आलोपालो जितहार हुँदै आएको छ ।
२०७४ मा कांग्रेसका मिनेन्द्र रिजाल ३५ हजार ८१९ मतसहित विजयी भएका थिए । २०७९ मा एमालेका ऋषिकेश पोखरेल ३३ हजार १४८ मतसहित विजयी हुँदा कांग्रेसकी सुजाता कोइराला ३१ हजार ९४० मतमा सीमित भइन् ।
कानेपोखरी गाउँपालिकाका वडा नम्बर १, २, ३, पथरीशनिश्चरे नगरपालिका–५ र ६, रंगेली नगरपालिका–१, २, ३, ८, ९, रतुवामाई नगरपालिकाका १० वटै वडा र सुनवर्षी नगरपालिकाका ९ वटै वडा समेटिएको क्षेत्र नम्बर २ मा १ लाख २९ हजार ६ सय ८४ जना मतदाता छन् । समग्र वस्तुस्थिति हेर्दा मतदाता विकास निर्माणसहितका ठोस एजेन्डा लिएर आउने उम्मेदवारको खोजीमा देखिन्छन्, जहाँ तीन दशकदेखिको कांग्रेस–एमालेको प्रभावबीच रास्वपाको चर्चा यसपटक चुनावी बहसको केन्द्र बनेको छ ।
प्रतिक्रिया