विराटनगर : मोरङको रंगेलीमा भएको पत्नी हत्या र त्यसपछि भएको आत्महत्याको घटनाले घरेलु हिंसालाई ‘सम्झाइबुझाइ’ र मिलापत्रमै सीमित गर्दा कति गम्भीर परिणाम आउन सक्छ भन्ने कटु यथार्थ उजागर गरेको छ ।
बारम्बारको घरेलु हिंसा, प्रहरी र जनप्रतिनिधिको मध्यस्थता, मिलापत्र, चेतावनी र सम्झौता हुँदाहुँदै पनि अन्ततः २२ वर्षीय मुकेशकुमार मण्डल र उनकी २० वर्षीया पत्नी अम्बिकाकुमारी मण्डलले ज्यान गुमाउनु परेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले यो घटना अचानक आवेगमा भएको नभई लामो समयदेखि चल्दै आएको वैवाहिक हिंसाको निरन्तरता भएको देखाएको छ । मंसिर १२ गते प्रेम विवाह गरेका दम्पतीको सम्बन्ध केही हप्तामै विघटनतर्फ धकेलिँदा मंगलबार बिहान रंगेली–५ धनपट्टीस्थित ससुराली घरमै जघन्य अपराध भएको हो ।
प्रहरीका अनुसार सोमबार राति १०ः३० बजे मुकेश ससुराली पुगेका थिए । दुवैबीच पहिलेदेखि नै तनाव रहेको र सोही विवाद उत्कर्षमा पुग्दा बिहान करिब २ः४५ बजे मुकेशले पत्नीको घाँटी रेटेर हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।
प्रहरीसम्म पुगेका उजुरी, तर जोखिम मूल्यांकन भएन
मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार मण्डल दम्पतीबीचको विवाद प्रहरी कार्यालयसम्म कम्तीमा तीन पटक पुगेको थियो । पछिल्लो पटक पुस २५ गते अम्बिकामाथि कुटपिटको उजुरी परेपछि मुकेशलाई पक्राउ गरी एक रात हिरासतमा राखिएको थियो ।
‘अबदेखि हिंसा नगर्ने, सँगै बस्ने र विवाह दर्ता गर्ने’ सहमतिमा पुस २९ गते उनलाई छोडिएको थियो । त्यसअघि पनि प्रहरी र जनप्रतिनिधिको उपस्थितिमा पटक–पटक मिलापत्र र सम्झाइबुझाइ भएको थियो ।
तर, प्रहरीकै अनुसार ती सबै प्रक्रिया जोखिम नियन्त्रणभन्दा बढी अस्थायी समाधानमा सीमित भए । दीर्घकालीन संरक्षण, मनोसामाजिक मूल्यांकन र पीडित सुरक्षामा पर्याप्त ध्यान नदिँदा हिंसा अन्ततः ज्यान जाने बिन्दुसम्म पुगेको देखिन्छ ।
प्रेम विवाह, पारिवारिक अस्वीकार र दाइजोको दबाब
स्थानीयका अनुसार मुकेश र अम्बिका प्रेम सम्बन्धमा थिए । परिवारको अस्वीकारपछि उनीहरूले सन्सारीमाई मन्दिरमा विवाह गरेका थिए । मुकेशका परिवारले दाइजोबापत १० लाख रुपैयाँ, १ तोला सुन र मोटरसाइकल मागेको अम्बिकाकी आमा पुनमदेवी मण्डलको दाबी छ ।
दाइजो तत्काल दिन नसक्दा बुहारी स्वीकार नगरिएको, विवाह दर्ता गर्न आनाकानी गरिएको र त्यसले दम्पतीबीचको दूरी अझ बढाएको स्थानीयको भनाइ छ । अन्ततः माघ ४ गते मात्र विवाह दर्ता भएको थियो ।
अन्तिम रात : चेतावनी बेवास्ता भयो
घटना हुनुभन्दा अघिल्लो रात ससुराली पुगेका मुकेशलाई सासू, छरछिमेकी र वडाध्यक्षले समेत घर फर्किन आग्रह गरेका थिए । तर, उनले ससुरालीमै बस्ने अडान लिए ।
छरछिमेकी फर्किएपछि दम्पती एउटै कोठामा सुते । बिहान ठूलो आवाज सुनेपछि ढोका नखुलेको देखेर झ्यालबाट हेर्दा अम्बिका रगतको आहालमा थिइन् भने मुकेश गम्भीर अवस्थामा छटपटाइरहेका थिए । केही समयमै दुवैको मृत्यु भयो ।
घरेलु हिंसाप्रति पुनर्विचारको चेतावनी
प्रहरीका अनुसार मुकेशले झोलामा राखेको चक्कु प्रयोग गरेको थियो । लागुऔषधको लत र मानसिक अवस्थासम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको छ ।
डीएसपी लामिछानेका अनुसार यो घटना व्यक्तिगत पारिवारिक त्रासदी मात्रै होइन । ‘घरेलु हिंसाका उजुरीलाई मिलापत्रमै टुंग्याउने, जोखिमको गहिरो मूल्यांकन नगर्ने र मानसिक स्वास्थ्यलाई बेवास्ता गर्ने प्रवृत्तिले यस्तो भयावह परिणाम निम्त्याएको हो,’ उनले बताए ।
घटनाले घरेलु हिंसालाई सामान्य झगडा ठान्ने सामाजिक दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको छ । ‘अब पनि यस्ता विषयलाई गम्भीर रूपमा नलिए समाजले अझ ठूलो मूल्य चुकाउनुपर्नेछ,’ वडाध्यक्ष महानन्द मण्डलले भने ।
घटनापछि गाउँ शोक र त्रासमा डुबेको छ । पीडा, असुरक्षा र मौन डरले समुदाय स्तब्ध बनेको छ ।
प्रतिक्रिया