धरान : धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
धरान फुटबल क्लबको आयोजनामा माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान उपमहानगरपालिका–१६ स्थित रंगशालामा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
प्रतियोगिताको उद्घाटन खेल माघ २२ गते आयोजक धरान फुटबल क्लब (धरान) र जर्जियन फुटबल क्लब (भारत) बीच हुने आयोजक क्लबका अध्यक्ष प्रताप तामाङले बताए ।
त्यसैगरी माघ २३ गते रोयल थिम्पु फुटबल क्लब (भुटान) र झापा–११ फुटबल क्लब (झापा) बीच प्रतिस्पर्धा हुनेछ । माघ २४ गते प्लानिङ ब्वाइज युनाइटेड (काठमाडौं) र न्यू रोड टिम (काठमाडौं) आमनेसामने हुनेछन् भने माघ २५ गते नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ ।
माघ २६ गते उद्घाटन खेलको विजेताले लालिगुराँस फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने माघ २७ गते झापा–११ र रोयल थिम्पुबीचको खेलको विजेतासँग सातदोबाटो युथ क्लबले खेल्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सेमिफाइनल खेलहरू माघ २८ र २९ गते आयोजना हुनेछन् । फाइनल खेल फागुन २ गते शनिबार सम्पन्न हुने अध्यक्ष तामाङले जानकारी दिए ।
गत वर्ष आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा यस वर्ष १० टोली सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिनेछ ।
प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १० हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५–२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । साथै, सर्वाधिक गोलकर्तालाई ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
प्रतिक्रिया