मोरङको रंगेलीमा पारिवारिक विवादले २ जनाको ज्यान गयो, पत्नीको हत्यापछि आत्महत्या

मंगलबार, २० माघ २०८२

विराटनगर : मोरङको रंगेलीमा पारिवारिक विवादका क्रममा मंगलबार बिहान एक दम्पतीको ज्यान गएको छ । पारिवारिक विवादपछि युवकले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ससुराली घर पुगेर पत्नीको हत्या गरेका युवक आफूले पनि घाँटी रेटेर आत्महत्या गरेको अवस्थामा शव फेला परेको हो ।

मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर पत्नीको हत्या गरेको पाइएको छ । 

घटना बिहानका राति २ः४५ बजेतिरको हो । मुकेश सोमबार बेलुका धनपट्टीस्थित ससुराली घरमा पुगेका थिए ।

ससुराली घरमै उनले पत्नी अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेको प्रहरीले जनाएको छ । घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले पत्नी अम्बिकाकुमारीलाई चक्कुले प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

पतिले चक्कुले प्रहार गर्दा अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको डीएसपी लामिछानेले बताए । उनका अनुसार पत्नीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

मुकेशको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनाको क्षतविक्षत शव हाल घटनास्थलमै छ । घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल आफैं घटनास्थल पुगेका छन् । 

घटनास्थल पुगेर प्रहरी टोलीले मुचुल्का उठाउने लगायतका कानुनी प्रक्रिया पूरा गर्ने काम गरिरहेको छ ।

घटनाको वास्तविक कारण तथा अन्य पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको डीएसपी लामिछानेले बताए । उनले थप अनुसन्धानपछि मात्रै घटनाको पूर्ण विवरण सार्वजनिक गर्न सकिने उल्लेख गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार