प्यूठानमा दाजुभाइद्वारा योजनाबद्ध रूपमा श्रीमतीको हत्या, दुवै पक्राउ

सोमबार, १९ माघ २०८२

प्यूठान : प्यूठानको गौमुखी गाउँपालिका–६, लिबाङमा एक युवकले आफ्नै भाइको सहयोगमा श्रीमतीको हत्या गरेको घटनामा दुवै पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार १९ वर्षीय अनिल घर्तीले १७ वर्षीय भाइसँग मिलेर १९ वर्षीया श्रीमती शर्मिला घर्तीको हत्या गरेका हुन्। प्रारम्भिक अनुसन्धानमा दाजुभाइले योजनाबद्ध रूपमा शर्मिलालाई भीरबाट धकेलेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनिल र शर्मिलाबीच प्रेम सम्बन्धपछि दुई वर्षअघि कानुनविपरीत बालविवाह भएको थियो।

पछिल्लो समय अनिलले श्रीमतीमाथि परपुरुषसँग सम्बन्ध रहेको शंका गर्दै आएको र सोही विषयमा दम्पतीबीच विवाद भइरहने गरेको बताइएको छ।

घटनाको दिन माघ १६ गते साँझ अनिलले शर्मिलालाई घुम्न जाने बहानामा घरबाट बाहिर लगेका थिए। त्यसक्रममा विवाद बढेपछि शर्मिलालाई भीरबाट धकेलिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनापछि दुवै जनाले घटनालाई दुर्घटना जस्तो देखाउने प्रयास गरेको पनि प्रहरीको भनाइ छ।

भोलिपल्ट परिवारका सदस्यले शर्मिलालाई भीरमुनि मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई जानकारी गराइएको थियो।

घटनास्थलको अवस्थाले शंका उत्पन्न भएपछि प्रहरीले गहिरो अनुसन्धान अघि बढाएको र सोधपुछका क्रममा दाजुभाइले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

हाल अनिल घर्ती र उनका भाइ प्रहरी हिरासतमा छन्। जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार