तेह्रथुम : माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको समय थियो। देशभर प्रहरी चौकी, सैनिक क्याम्प र सरकारी कार्यालयहरूमा आक्रमणका घटना दैनिकजसो दोहोरिइरहेका थिए। यही क्रमको एक दर्दनाक अध्याय हो—तेह्रथुमको आठराई गाउँपालिका–९ ह्वाकस्थित बगालेमा भएको सामूहिक हत्या काण्ड।
२०५८ साल माघ १० गते पाँचथरको गोपेटारस्थित प्रहरी चौकीमा माओवादीले आक्रमण गर्दा पाँच जना प्रहरी र सात जना जनमुक्ति सेनाको मृत्यु भयो। घटनामा माओवादीतर्फ १३ जना घाइते भए। घाइते जनमुक्ति सेनालाई तमोर नदी तरेर तेह्रथुम हुँदै संखुवासभा पुर्याई उपचार गर्ने योजना बनाइयो।
घाइते बोकेर हिँडेको टोली माघ १४ गते तेह्रथुमको आठराईस्थित ह्वाक पुगेको थियो। बाँसको स्टेचरमा बोकेर ल्याइएका घाइतेमध्ये एक स्टेचर बगाले नजिकै भाँचिएपछि घाइतेलाई स्थानीय पासाङ सेर्पा र इन्द्र सेर्पाको घरमा राखी उपचारको व्यवस्था मिलाइयो। सुरक्षित रहेका माओवादी नेता–कार्यकर्ता घाइतेको जिम्मा स्थानीय कमिटीलाई सुम्पेर अन्यत्र लागे।
पासाङ सेर्पाको घरमा १३ जना घाइते र चार जना स्वास्थ्यकर्मीसहित १७ जना रहेका थिए। खाना खाइरहेका बेला उक्त घरलाई नेपाली सेनाले घेराबन्दी गरी अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीहरू बताउँछन्। आक्रमणमा उपचाररत १७ जना माओवादी कार्यकर्ता तथा स्वास्थ्यकर्मी र घरधनी पासाङ सेर्पासहित तीन जना स्थानीय गरी २० जनाको घटनास्थलमै ज्यान गयो। भाग्दै गरेका स्थानीय तुलसी विश्वकर्मालाई सेनाले पक्राउ गरी गोली हानेर हत्या गरेको बताइन्छ।
गोपेटार प्रहरी चौकी आक्रमणका कमाण्डर तथा हाल माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) का अनुसार स्टेचर भाँचिनु नै बगाले काण्डको मुख्य कारण बन्यो। “स्टेचर नभाँचिएको भए टोली अघि बढिसकेको हुन्थ्यो, सेनाले भेट्ने सम्भावना थिएन,” उनले सम्झिए।
नेम्वाङका अनुसार घाइते र उपचारमा संलग्न सबै निःशस्त्र थिए। “कुनै पनि कमरेडसँग हतियार थिएन, त्यसैले सबैजना हताहत हुनुभयो,” उनले भने।
उक्त समयमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हाल कोशी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईं (सचिन) सहित करिब ४० जना इन्द्र सेर्पाको घरमा थिए। उनीहरू भने भागेर ज्यान जोगाउन सफल भए।
घटनाका प्रत्यक्षदर्शी स्थानीय कुलबहादुर गुरुङका अनुसार सेनाले भोलिपल्ट बिहान गाउँका सबैलाई बोलाएर खाल्डो खनाई शवहरू सामूहिक रूपमा गाडेको थियो। “भात खाँदै गर्दा आक्रमण भएको रहेछ, कसैको हातमा साग–भातको मुट्ठी थियो, कसैको मुखमै भात अड्किएको देख्यौं,” उनले भावुक हुँदै सुनाए।
घटनास्थलमै हाल ‘बगाले शहिद स्मृति पार्क’ निर्माण गरिएको छ। २३ वर्षपछि सम्पन्न उक्त पार्कको उद्घाटन २०८१ माघ १४ गते माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गरेका थिए।
बगाले काण्डमा ज्यान गुमाएका २१ जनालाई शान्ति प्रक्रिया पश्चात सरकारले शहिद घोषणा गरेको छ। पार्क उद्घाटनपछि बोल्दै प्रचण्डले बगाले हत्या काण्ड द्वन्द्वकालकै सबैभन्दा ठूलो सामूहिक मानवीय क्षति भएको टिप्पणी गरे। सो अवसरमा शहिद परिवारका सदस्यहरूले भावविह्वल हुँदै पार्टी र राज्यले शहिदको सपना अझै साकार पार्न नसकेको गुनासो व्यक्त गरेका थिए।
प्रतिक्रिया