काठमाडौँ : ५ पटक प्रधानमन्त्री र २ पटक कांग्रेस सभापति भएका नेता शेरबहादुर देउवाले शुक्रवार सहिद दिवसमा सार्वजनिक शुभकामना सन्देश जारी गरेनन् । उनले पछिल्लो पटक ५ माघमा सभापतिकै हैसियतमा सोनाम ल्होसारको शुभकामना दिएका थिए ।
जतिबेला, विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति भइसकेका थिए र उनको नेतृत्वको केन्द्रीय कार्यसमितिलाई २ माघमा निर्वाचन आयोगले अद्यावधिक गरेर मान्यतासमेत दिइसकेको थियो ।
सभापति छाड्नुपरेयता ल्होसारको शुभकामनाबाहेक देउवाले सार्वजनिक रूपमा कहीँकतै केही बोलेका छैनन् । पुरानो संस्थापन पक्षको असहमतिका बीच २७–३० पुसमा भएको विशेष महाधिवेशनले देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भङ्ग गरी थापा नेतृत्वमा १३४ सदस्यीय कार्यसमिति चयन गरेदेखि नै देउवा पूर्णरूपमा वर्तमान नेतृत्वसँग अलग छन् ।फेसबुक र ‘एक्स’ को एकाउन्टमा देउवाले सभापतिको हैसियत मेटाएका पनि छैनन्
पार्टीभित्रको विद्रोहले सत्ता र शक्ति एकाएक गुमाउनुपर्दाको पीडा देउवाले भुल्न नसकिरहेको उनलाई भेटिरहने निकटस्थ नेताहरूले बताएका छन् । थापा सभापति भएको देउवाले सार्वजनिक रूपमा अझै स्वीकार गरिसकेका छैनन् । सभापति चयन भएपछि अहिलेसम्म थापालाई बधाईसमेत दिएका छैनन् । फेसबुक र ‘एक्स’ को एकाउन्टमा देउवाले सभापतिको हैसियत मेटाएका पनि छैनन् ।
कांग्रेस उम्मेदवारहरू घरदैलो गरिरहेका छन् । चुनावी मैदानमा उत्रिएका उम्मेदवार पार्टीभित्र एकताको सन्देश चाहिरहेका छन् । तर, देउवाले त्यसप्रति बेवास्ता गर्दै अहिलेसम्म कोही उम्मेदवारलाई पनि शुभकामना सन्देश दिएका छैनन् । निकटवर्ती एक नेताका अनुसार अदालतले आफ्नो पक्षमा फैसला देला कि भन्ने आसमा देउवा अझै छन् ।
निर्वाचन आयोगले थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गरेपछि त्यसविरुद्ध पुरानो संस्थापन पक्षका तर्फबाट देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ४ माघमा अदालतमा मुद्दा दायर गरेका छन् । उक्त मुद्दाको ६ माघमा उम्मेदवारी मनोनयनकै दिन पेसी चढेकामा अदालतले अन्तरिम आदेश नदिई विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको छ । लिखित जवाफ पेस गरेको वा म्याद सकिएको १५ दिनभित्र अन्तिम सुनुवाइ हुने गरी मुद्दालाई अग्राधिकार दिइएको छ ।
निकटवर्ती एक नेताका अनुसार अदालतले आफ्नो पक्षमा फैसला देला कि भन्ने आसमा देउवा अझै छन् ।
देउवाले अदालतमा रहेको मुद्दालाई देखाएर आफू निकटका नेता तथा शुभचिन्तकलाई कांग्रेसभित्रको अन्योल चाँडै हट्ने भन्दै ढाडस दिइरहेका छन् । ‘सभापति देउवा पूर्वसभापतिको हैसियत बनाएर बाहिर निस्कन चाहनुभएको छैन’ निकटस्थ एक नेताले भने, ‘त्यसैले आजको दिनसम्म उहाँको मनस्थिति निर्वाचनमा निस्कने देखिँदैन ।’
थापालाई सभापति स्विकार्ने कि नस्विकार्ने भन्नेमा पनि देउवाको विरोधभास चरित्र देखिएको छ । ५ माघको मध्यरातसम्म देउवा सभापति थापाकै हस्ताक्षरबाट चुनाव लड्नका लागि टिकट खोजिरहेका थिए । उनले अन्तिम पटक लड्ने चाहना राखेका थिए । गृहजिल्ला डडेलधुराबाट उनको एकल नाम सिफारिस भएको पनि थियो । एकातिर थापा नेतृत्वको कार्यसमितिलाई अवैधानिक भन्दै अदालतमा गएका देउवा अर्कोतर्फ थापाले हस्ताक्षर गरेको टिकटबाट चुनाव लड्न खोज्दासमेत नपाएपछि मौनता साधेर बसेका छन् ।
देउवा समूहले टिकट पाउन माग गरेको ८५ जनाको सूचीमा देउवाको नाम नै पहिलो नम्बरमा थियो । मध्यरातसम्म उनले टिकटको प्रतीक्षा गरेका थिए । तर, उनलाई टिकट दिन नयाँ नेतृत्व सकारात्मक नभएपछि त्यसै रात १२.२० बजे बाध्य भएर उम्मेदवार नहुने घोषणा गरेका थिए । त्यसलगत्तै उनको स्थानमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले टिकट पाए ।
देउवा समूहले पठाएको सूचीमध्ये विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशशरण महत, किशोरसिंह राठोर, एनपी साउद, महेन्द्रराय यादव, अजय चौरासिया, शङ्कर भण्डारी, सरोजकुमार यादव, सुशीला थिङ, अनिलकुमार रुगंटा, जनकराज चौधरी, टेकबहादुर गुरुङ, केशबहादुर विष्ट, दीपबहादुर शाहीसहित ३५ जनाले टिकट पाएका छन् ।
तत्कालीन प्रचार विभाग प्रमुख मीन विश्वकर्मा निर्वाचनका बेला पार्टीलाई एक ढिक्का बनाएर लैजान हाल देखिएको असहज वातावरण निवारण गरिनुपर्ने बताउँछन् । उनका अनुसार खासगरी पदीय मर्यादाका कारण नेताहरू चुनाव प्रचारमा गएर मञ्च ‘सेयरिङ’ गर्न सकिरहेका छैनन् । देउवा नेतृत्वको कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई कार्यक्रमका मञ्च र भाषणका क्रममा दिइने मर्यादा क्रम मिलाउनुपर्ने उनले बताए ।
२४ भदौमा आगजनी र विध्वंस गर्ने दोषीहरूमाथि कारबाही गर्नुपर्नेमा कांग्रेसभित्र समान धारणा छ । तर २३ भदौको घटनालाई कसरी बुझ्ने भन्नेमा काँग्रेसमा पुरानो संस्थापन र नयाँ नेतृत्वबीच मतान्तर छ ।
‘निर्वाचन परिचालन सम्बन्धमा देखिएका पदीय मर्यादा र सम्बोधन मिलाउनुपर्ने देखिएको छ, आपसमा मनमुटाव बढाउने किसिमका शब्द प्रयोग नगर्ने तथा साझा शैलीका साथ मञ्च सेयरिङ गर्ने वातावरण बनाउनुपर्नेभएको छ’ उनले भने, ‘पार्टीको चुनावी घोषणापत्र र रणनीतिका विषयमा पनि साझा धारणा बनाएर जानु उपयुक्त हुन्छ । कांग्रेसको इतिहास र पृष्ठभूमि बिर्सने गरी रणनीतिक कुरा ल्याउनु हानिकारक हुन्छ ।’
यस्तै जेन–जी विद्रोहलाई कसरी लिने भन्नेबारेमा पनि पुरानो संस्थापन र नयाँ नेतृत्वबीच वैचारिक मतभिन्नता देखिएको छ । २४ भदौमा आगजनी र विध्वंस गर्ने दोषीहरूमाथि कारबाही गर्नुपर्नेमा कांग्रेसभित्र समान धारणा छ । तर २३ भदौको घटनालाई कसरी बुझ्ने भन्नेमा काँग्रेसमा पुरानो संस्थापन र नयाँ नेतृत्वबीच मतान्तर छ । छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्ने माग नयाँ नेतृत्वले प्रस्ट राख्दै आएको छ भने पुरानो संस्थापनले यसलाई पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि कारबाही गर्नुपर्ने अर्थमा बुझेको छ ।
‘देउवाले टिकट पाएको भए अहिले पुरानो संस्थापन पक्षका सबै नेता चुनावमा खटिएका हुन्थे, अदालतमा भएको मुद्दा पनि मिलिसकेको अवस्था हुन्थ्यो, तर टिकट नदिएपछि उहाँ आफैँ कतै पनि नजाने मनस्थितिमा हुनुहुन्छ’ एक नेताले भने, ‘यसले पार्टीभित्रको बृहत् एकतालाई खलबल्याउन सक्ने देखिएको छ ।’
देउवाले गृहजिल्ला डडेलधुराबाट ०४८ देखि ०७९ सम्मका चुनाव कहिल्यै हारेनन् । ७ वटा चुनाव जितेर ५ पटक प्रधानमन्त्री र दुई कार्यकाल पार्टी सभापति भए ।
देउवाले टिकट नपाएपछि त्यस ठाउँमा उम्मेदवार रहेका मह चुनावी प्रचारमा व्यस्त छन् । उनी जता जान्छन्, त्यहाँ स्थानीय मतदाताले देउवाको खोजी गर्न थालेका छन् । त्यसैले देउवालाई गृहजिल्ला लैजानका लागि आग्रह गर्न केही दिनअघि मह काठमाडौँ आएका थिए । तर, उनले हुन्छ वा हुन्न भन्ने कुनै जवाफ पाएनन् । त्यसपछि गृहजिल्ला फर्केर फेरि चुनावी अभियानमा लागेका छन् ।
महरका अनुसार ७/७ पटक चुनाव जिताएर पठाएका देउवालाई डडेलधुरावासीले एक पटक देख्न चाहेका छन् । ‘शेरबहादुर दाइ एउटा नेता मात्र होइन, डडेलधुरा जिल्लाको अभिभावक पनि हो, जिल्लावासीले उहाँलाई ०४८ देखि निः सर्त प्रतिनिधि बनाएर पठाएका छन् । ५ पटक प्रधानमन्त्री र २ पटक कांग्रेस सभापति बनाउने भूमिका डडेलधुराले खेलेको छ । यस्तो अभिभावकलाई एक पटक सुमसुम्याउन, हालखबर बुझ्न, फोटो खिचाउन आमजनताले चाहिरहेका छन्’ मह भन्छन् ।
अर्का एक नेताले देउवाको अनुहार अघि सारेर चुनावमा राम्रो नतिजा ल्याउन नसकिने प्रचार गरिएकाले पनि उनी बाहिर निस्कन नचाहेका हुन् । ‘देउवालाई नेतृत्व मानेर चुनावमा जाँदा जनताले पत्याउँदैनन्, पार्टीको स्थिति खस्किन्छ भनेर प्रचार भएको छ, त्यसैले पनि किन चुनावमा जाने भन्ने प्रश्न छ,’ ती नेताले भने ।
तर सभापति थापाले शुक्रवार धनुषाको चुनावी कार्यक्रममा सम्बोधनका क्रममा निवर्तमान सभापति देउवासँग निरन्तर संवाद भइरहेको उल्लेख गर्दै पार्टीभित्र अब कुनै विवाद नभएको दाबी गरे । ‘निवर्तमान सभापति श्रदय नेता शेरबहादुर देउवासँग निरन्तर संवादमा छु, अरू नेताहरूसँग संवादमा छु,’ उनले भने, ‘पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको छ, हिजोको कुरालाई मनमा लिएर–अड्किएर बस्ने सुविधा छैन । एक मन, एक ढिक्का भएर चुनावमा जानुपर्छ । पार्टीमा कुनै गुट छैन, एउटै समूह छ ।’
उनले उम्मेदवारमाथि हुन सक्ने सम्भावित असहयोगप्रति सङ्केत गर्दै त्यसलाई कडाइ गरिने चेतावनीसमेत दिएका छन् । केही दिनमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर अनुशासन समिति गठन गरी निगरानी गरिने बताए । ‘पार्टीका सिनियर नेताको अध्यक्षतामा अनुशासन समिति बन्छ, निर्वाचनको दौरानमा कसैले असहयोग गरेको छ भने त्यसको तथ्य र प्रमाणका आधारमा सम्बन्धित उम्मेदवारले भन्नुहुन्छ, उम्मेदवारले जे ल्याउनुहुन्छ त्यसलाई केन्द्रले सकार्छ,’ थापाले भने ।
प्रतिक्रिया