रास्वपाका नेता बालेन शाहको निवासमा तोडफोड

शनिबार, १७ माघ २०८२

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको काठमाडौँस्थित निजी निवासमा तोडफोड भएको छ। गएराति अज्ञात समूहले शाहको घरको मूल ढोकामा क्षति पुर्‍याएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शाहको घरको गेटमा जडान गरिएको फलामे ग्रील फुटाइएको अवस्थामा भेटिएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरेको थियो।

परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) कौशल बुढाथोकीले घटनाको प्रकृति हेर्दा चोरी गर्ने उद्देश्यले तोडफोड भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए।

‘घरमा कोही नबस्ने र गेट फुटाइएको देखिएकाले शङ्कास्पद समूहले चोरीको प्रयास गरेको हुनसक्छ,’ उनले भने। यद्यपि, हालसम्म घरभित्रका सामान हराएको सम्बन्धमा कुनै आधिकारिक उजुरी भने प्राप्त नभएको प्रहरीले जनाएको छ।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका नेता शाह हाल चुनावी प्रचारप्रसारका क्रममा कर्णाली प्रदेशमा रहेका छन्। उनी घरमा नभएको मौका छोपी उक्त समूहले तोडफोड गरेको हुनसक्ने आशङ्का गरिएको छ।

प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिसकेको र संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार