झापा : २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ५ राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बन्दै गएको छ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बिच प्रत्यक्ष प्रतिस्पर्धा हुने निश्चित भएसँगै यो क्षेत्रलाई ‘इलेक्सन इपिसेन्टर’का रूपमा हेरिन थालिएको छ ।
ओली र बालेनजस्ता दुई फरक पुस्ता, फरक शैली र फरक राजनीतिक पृष्ठभूमिका नेताबिचको भिडन्तले झापा ५ मात्र होइन, समग्र देशको ध्यान तानेको छ । चियापसलदेखि सामाजिक सञ्जालसम्म, दमकदेखि गौरीगन्जसम्म चुनावी बहस तातिएको छ । लामो बिरासत बोकेको यस क्षेत्रमा यसपटक पनि ओलीले प्रतिस्पर्धा गर्ने निश्चित छ ।
झापा ५ एमाले अध्यक्ष ओलीको परम्परागत निर्वाचन क्षेत्र हो । ०४८ देखि अहिलेसम्म भएका प्राय: सबै निर्वाचनमा यही क्षेत्रबाट प्रतिस्पर्धा गरेका ओली ६ पटक संसद्मा पुगिसकेका छन् । ०६४ मा पराजय भोगे पनि त्यसयता उनले यो क्षेत्र आफ्नो बलियो आधारका रूपमा जोगाइरहेका छन् । यसपटक पनि एमाले दमक नगर समितिले ओलीलाई झापा ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
उता, ०७९ मा काठमाडौँ महानगरको मेयर जितेपछि राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग ल्याएका बालेन अहिले रास्वपाका वरिष्ठ नेता र प्रधानमन्त्रीका घोषित उम्मेदवार हुन् । ओलीको ‘कोर एरिया’ मानिने झापा ५ बाटै चुनाव लड्ने निर्णयसँगै उनको चर्चा झन् चुलिएको छ । बालेनले दमकमा डेरा खोजिसकेपछि यो प्रतिस्पर्धा केवल चर्चामा सीमित नरही व्यवहारमै प्रवेश गरेको छ ।
दमक बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख मोहन भण्डारीका अनुसार दुई चर्चित पात्रबिचको प्रतिस्पर्धाले मतदातामा असाधारण उत्साह देखिएको छ । ‘यो निर्वाचन मनोवैज्ञानिक रूपमा पनि फरक छ । ओलीलाई हराउन बालेन यहीँ आएका हुन् भन्ने बुझाइ मतदातामा छ । त्यसैले प्रतिस्पर्धा निकै कडा हुने देखिन्छ,’ भण्डारी भन्छन् ।
एमाले भने यस क्षेत्रलाई अझै पनि सुरक्षित ठान्छ । एमाले झापाका अध्यक्ष प्रेम गिरीले ओलीको चाहना र सङ्गठनको सिफारिस दुवै झापा ५ मै केन्द्रित रहेको बताए । ‘अध्यक्षज्यूले यहीँबाट चुनाव लड्ने निर्णय गर्नुभएको छ । सङ्गठन बलियो छ, जनसमर्थन हाम्रो पक्षमा छ,’ गिरीको दाबी छ, ‘कसैको इसारामा सिँगौरी खेल्न आएका व्यक्तिका कारण क्षेत्र छाड्ने कुरा हुँदैन । यो हाम्रो सुरक्षित क्षेत्र हो ।’ अध्यक्ष गिरीले एमालेको सङ्गठनको बल र नागरिकको समर्थनमा विगतभन्दा धेरै मतान्तरमा ओलीले निर्वाचन जित्ने दाबी गरे ।
रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठक भने बालेनको आगमनसँगै पार्टीको सङ्गठनात्मक उत्साह उल्लेखनीय रूपमा बढेको बताउँछन् । ‘झापा ५ नै अब निर्वाचनको इपिसेन्टर बन्नेछ । ओलीविरुद्धको प्रतिस्पर्धा यसपटक निर्णायक हुन्छ,’ पाठकले भने, ‘हामीले ओलीविरुद्ध पहिला पनि स्वर्णिम वाग्लेलाई उठाउन माग गरेका थियौँ । बालेन आउँदा त त्योभन्दा राम्रो भयो ।’
०७९ को निर्वाचनमा ओलीले ५२ हजार ३१९ मतसहित विजय हासिल गरेका थिए । त्यतिवेला काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ र रास्वपाका सुरेशकुमार पोखरेलले ११ हजार ७५९ मत पाएका थिए । यसपटक झापा ५ मा कुल एक लाख ६३ हजार ३७९ मतदाता छन् । तीमध्ये नौ हजार ९० नयाँ मतदाता थपिएका छन्, जसले चुनावी गणितलाई थप अनिश्चित बनाएको छ । यहाँ समानुपातिकतर्फ एमालेले ३५ हजार ८७२ र रास्वपाले १८ हजार २०५ मत ल्याएको थियो ।
‘लक्की’को घरमा बालेनको चुनावी ‘हेडक्वार्टर’
बिहीबार झापा आइपुगेका बालेनका सहयोगीले दमक ५ मा डेराको टुङ्गो लगाइसकेका छन् । रास्वपा नेतृ विन्दु सिटौला ‘लक्की’को घर बालेनको चुनावी केन्द्र बनाइने सहमति भएको छ । बालेन मनोनयनको अघिल्लो दिन झापा आइपुग्ने तयारीमा छन् । विन्दु रास्वपाको समानुपातिक सूचीका लागि प्राइमरी इलेक्सनमा भाग लिएकी नेतृ हुन् । बालेनको सचिवालयका अनुसार चुनाव परिचालनका लागि अन्य घर पनि आवश्यक पर्ने भएकाले त्यसको पनि खोजी भइरहेको छ ।
प्रतिक्रिया