तेस्रो बेलबारी महोत्सवमा ४० हजार दर्शक, ५० लाखको कारोबार

शनिबार, ०३ माघ २०८२

बेलबारी : बेलबारी उद्योग वाणिज्य सङ्घको आयोजनामा जारी ‘तेस्रो बेलबारी महोत्सव’ उत्साहजनक रूपमा अगाडि बढिरहेको छ।

गत पुस २५ गतेदेखि सुरु भएको महोत्सव आज सातौँ दिनमा प्रवेश गर्दा दर्शकहरूको आकर्षण र आर्थिक गतिविधि दुवैमा वृद्धि भएको छ।

बेलबारी उद्योग वाणिज्य सङ्घका महासचिव विवेक मिश्रका अनुसार, महोत्सवको सातौँ दिनसम्म करिब ४० हजार दर्शकले अवलोकन गरिसकेका छन्।

दर्शकको बाक्लो उपस्थितिसँगै आर्थिक कारोबार पनि सन्तोषजनक रहेको मिश्रले जानकारी दिए। उनले बताए, “महोत्सवको सातौँ दिनसम्म ५० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार भएको छ।” महोत्सवमा ५० वटा व्यापारिक स्टल र १५ वटा होटेलका स्टल गरी कुल ६५ वटा स्टल सञ्चालनमा रहेका छन्।

महोत्सवलाई रोचक बनाउन दैनिक रूपमा विविध कार्यक्रमहरू आयोजना भइरहेका छन्। दिउँसो विभिन्न विद्यालयका विद्यार्थीहरूको प्रतिभा प्रदर्शन, साहित्यिक कार्यक्रम र अन्य सांस्कृतिक गतिविधिहरू हुने गरेका छन् भने साँझको समयमा साङ्गीतिक कार्यक्रमले दर्शकलाई मनोरञ्जन दिइरहेको छ।

आजको विशेष आकर्षणका रूपमा नेपाली आधुनिक सङ्गीत क्षेत्रका चर्चित गायक जीवबको प्रस्तुति रहने आयोजकले बताएका छन्। त्यस्तै, भोलि शनिवार चर्चित गायिका तृष्णा गुरुङको साङ्गीतिक प्रस्तुति हुने छ।

महोत्सवलाई मनोरञ्जनका साथै चेतनामूलक बनाउने उद्देश्यले आगामी आइतबार हात्ती विज्ञहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम पनि तय गरिएको छ। उक्त कार्यक्रममा हात्तीको आहारा, यसको संरक्षण र प्राविधिक पक्षबारे विज्ञहरूसँग छलफल गरिनेछ।

स्थानीय व्यापार, कृषि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित यो महोत्सव आगामी माघ ५ गतेसम्म जारी रहनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार