मकवानपुर : १४औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय मकवानपुरद्वारा आयोजित करदाता सम्मान कार्यक्रममा सफ्टी हाइजिन प्रा.लि.आर्थिक वर्ष २०८०/८१ मा आयकरतर्फ सर्वोत्कृष्ट भई उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ।
आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख कर अधिकृत युक्त प्रसाद सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी उपस्थित थिए।
कार्यक्रममा आफ्ना विचार व्यक्त गर्दै सफ्टी हाइजिन प्रा.लि.का अध्यक्ष यादव घिमिरेले कर तिर्नु कानूनी दायित्व मात्र नभई राष्ट्र निर्माणमा प्रत्यक्ष योगदान हुने उल्लेख गरे। उनले इमान्दारीपूर्वक कर तिर्ने र कर तिर्न आनाकानी गर्ने पक्षलाई एउटै रूपमा व्यवहार गरिनु खल्लो लागेको बताउँदै करदाताप्रति सम्मानजनक व्यवहार र कर प्रशासन सुधारको आवश्यकता औंल्याए। साथै, कसले बढी कर तिर्ने भन्ने स्वस्थ प्रतिस्पर्धा विकास गर्न सके राजस्व प्रणालीमा उल्लेखनीय सुधार आउनेमा उनले विश्वास व्यक्त गरे।
कम्पनीले सेनेटरी प्याड, टिस्यु पेपर, डाइपर, बेबी वाइप्ससहितका उत्पादन विगत एक दशकदेखि उत्पादन र बिक्री गर्दै आइरहेको छ। उपभोक्तामाझ अत्यन्तै लोकप्रिय रहेका यी उत्पादनको गुणस्तरलाई आगामी दिनमा झनै उच्च बनाउँदै उपभोक्तामैत्री उत्पादनमार्फत बजार विस्तार गर्ने लक्ष्य रहेको कम्पनीका निर्देशक विजय पोखरेलले जानकारी दिए।
प्रतिक्रिया