२० जना सैनिक चढेको विमान दुर्घटना

बुधबार, २६ कार्तिक २०८२

काठमाडौं । टर्कीस वायुसेनाको सी-१३० सैन्य कार्गो विमान मंगलबार जर्जियामा दुर्घटनाग्रस्त भएको छ। टर्कीको रक्षा मन्त्रालयले उडानमा चालक दल सहित २० जना टर्कीका सैनिकरहेको पुष्टि गरेको छ। दुर्घटनामा मृत्यु हुनेको संख्या अझै आधिकारिक रूपमा पुष्टि भएको छैन।

रोयटर्सका अनुसार अजरबैजानी शहर गान्जाबाट उडान भरेको केही समयपछि नै विमान जर्जियाको सिघनाघी नगरपालिका (काखेती क्षेत्र) मा दुर्घटनाग्रस्त भएको थियो । यो क्षेत्र अजरबैजानी सीमा नजिक छ र पहाड र जंगलले घेरिएको छ।

दुर्घटनापछि बाहिर आएका प्रारम्भिक भिडियोहरूमा घाँसे मैदानमा छरिएका भग्नावशेषहरू जलिरहेका धातुका टुक्राहरू र कालो धुवाँको मुस्लो देखिएको थियो। केही सामाजिक सञ्जाल फुटेजहरूमा विमान द्रुत गतिमा घुमिरहेको, जमिनमा खसेको र त्यसपछि आगोमा विस्फोट भएको देखाइएको छ, यद्यपि रोयटर्सले यी तस्बिरहरू स्वतन्त्र रूपमा प्रमाणित गर्न सकेन।

दुर्घटनाको बारेमा थाहा पाएपछि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अंकारामा आयोजित एक कार्यक्रमको क्रममा अचानक आफ्नो भाषण रोक्दै भने, “हाम्रा शहीदहरूको आत्माले शान्ति पाओस्। यो कठिन समय हो, तर हामी यो त्रासदीलाई न्यूनतम क्षतिका साथ पार गर्ने प्रयास गर्नेछौं।” एर्दोगानले सरकारले घटनाको अनुसन्धान गरिरहेको र दुर्घटनाको कारण चाँडै पत्ता लगाउने बताए।

अजरबैजानी राष्ट्रपति इल्हाम अलियेभले एर्दोगानसँग फोनमा कुरा गर्दै दुखद मृत्युप्रति समवेदना व्यक्त गरेका छन्। यसैबीच, अमेरिकी राजदूत टम ब्यारेकले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, “टर्की सशस्त्र सेनाको विमान दुर्घटनाबाट गहिरो दुःख लागेको छ। यो कठिन समयमा संयुक्त राज्य अमेरिका टर्कीको साथमा उभिएको छ।”

सी-१३० हर्कुलस विमान बनाउने अमेरिकी कम्पनी लकहिड मार्टिनले पनि दुर्घटनाप्रति समवेदना व्यक्त गर्दै अनुसन्धानमा टर्कीका अधिकारीहरूलाई पूर्ण सहयोग गर्ने बताएको छ। “हामी हाम्रा ग्राहक र उनीहरूका नागरिकहरूप्रति समवेदना व्यक्त गर्दछौं र अनुसन्धानमा हामीले सक्ने कुनै पनि सहयोग प्रदान गर्न तयार छौं,” कम्पनीका प्रवक्ता क्रिस कार्न्सले भने।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार