काठमाडौँ : गत वर्षको तुलनामा यस वर्ष मनसुन समयमा जनधनको क्षति कम भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा २,१३९ वटा विपद् घटना भएका थिए भने यस वर्ष १,४५४ वटा मात्र घटना भएका छन्। गत वर्ष ४९५ जनाको मृत्यु भएकोमा यस वर्ष १४० जनाको मृत्यु भएको छ।
प्राधिकरणका अनुसार, गत वर्ष विपद्का कारण १०,८२३ घरपरिवार प्रभावित भएका थिए भने यस वर्ष ५,९९५ घरपरिवार प्रभावित भएका छन्। गत वर्ष ६६ जना बेपत्ता भएका थिए भने यस वर्ष ३० जना मात्र बेपत्ता भएका छन्। यस्तै, गत वर्ष ५२२ जना घाइते भएका थिए भने यस वर्ष ३०० जना घाइते भएका छन्।
यो वर्ष बाढीका २९२, पहिरोका ५१३, भारी वर्षाका ३९७ र चट्याङका २५२ घटना भएका थिए। बाढीमा परेर ३७ जनाको मृत्यु, २६ जना बेपत्ता र १४ जना घाइते भएका थिए भने ३,२०० घरपरिवार प्रत्यक्ष प्रभावित भएका थिए। यस्तै, पहिरोमा ६७ जनाको मृत्यु, ४ जना बेपत्ता र ७७ जना घाइते भएका थिए भने १,५१८ घरपरिवार प्रभावित भएका छन्।
भारी वर्षाका कारण ७ जनाको मृत्यु, २० जना घाइते र ९६६ घरपरिवार प्रभावित भएका छन्। चट्याङमा परेर २९ जनाको मृत्यु, १८९ जना घाइते र ३११ घरपरिवार प्रभावित भएका छन्।
यस वर्ष मनसुन सरदरभन्दा केही बढी अवधिसम्म रह्यो। सरदरभन्दा केही दिनअघि अर्थात् २०८२ जेठ १५ गते नेपाल प्रवेश गरेको मनसुन १३५ दिन रह्यो र गत असोज २४ गते बाहिरिएको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार, मनसुन अवधिमा १,३७५.४ मिलिमिटर वर्षा भएको थियो, जुन सरदर १,४१५.५ मिलिमिटरको ९७.२३ प्रतिशत हो।
औसतभन्दा बढी वर्षा भए पनि मानवीय तथा भौतिक क्षति विगत वर्षको तुलनामा कम भएको प्राधिकरणले जनाएको छ।
मनसुनको अन्त्यतिर अर्थात् गत असोज १७ देखि २० गतेसम्म ५३ जनाको ज्यान गएको थियो। मनसुनमा मानवीय क्षतिको हिसाबले इलाम सबैभन्दा बढी प्रभावित भएको थियो, जहाँ ३९ जनाको ज्यान गएको थियो।
सरकारले इलामलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो। रसुवाको भोटेकोसीमा गत असार २४ गते आएको बाढीमा १८ जना बेपत्ता भएका थिए, जसमा ११ वटा शव तथा मानव अङ्ग फेला परेका थिए।
उक्त बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाएको थियो। साथै, सुक्खा बन्दरगाह र तीन वटा जलविद्युत् आयोजनामा अर्बौंको क्षति भएको थियो। कार्गोसहित ७६ वटा गाडी बगाएको थियो।
मनसुनको सुरुवातमा मधेश प्रदेशमा सुक्खाको समस्या देखा परेको थियो। सरकारले मधेश प्रदेशलाई साउन ८ गतेदेखि तीन महिनाका लागि सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।
सरकारले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ पारित गरी सबै निकायलाई एकीकृत रूपमा परिचालन गरेकाले क्षति कम भएको अनुमान गरिएको छ। प्राधिकरणका कार्यकारी प्रमुखको नेतृत्वमा कमाण्ड सेन्टर स्थापना गरी लगातार ३८ घण्टासम्म सम्बन्धित निकायहरूसँग समन्वय तथा निर्देशन जारी गरिएको थियो।
प्राधिकरणका अनुसार—
२०७३ सालमा: ६४२ विपद्जन्य घटना, २८९ मृत्यु
२०७४ सालमा: ६२४ घटना, २८९ मृत्यु
२०७५ सालमा: ६९३ घटना, १२२ मृत्यु
२०७६ सालमा: ८४६ घटना, २०३ मृत्यु
२०७७ सालमा: १,०१५ घटना, ३८२ मृत्यु
२०७८ सालमा: ७३७ घटना, १६५ मृत्यु
२०७९ सालमा: ७१२ घटना, १७९ मृत्यु
२०८० सालमा: ८९१ घटना, ९२ मृत्यु
२०८१ सालमा: २,१३९ घटना, ४९५ मृत्यु
यस वर्ष (२०८२) मा भने विपद् घटनाको सङ्ख्या घटेर १,४५४ पुगेको छ र मृत्यु हुनेको सङ्ख्या पनि घटेर १४० मा सीमित भएको छ।
प्रतिक्रिया