धरान : सैनिक आवासीय महाविद्यालय धरानले विगत वर्षहरूमा झैँ यस वर्ष पनि पृथ्वी नारायण शाहको ३०४ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा महाविद्यालय विविधता दिवस भव्य रूपमा सम्पन्न गरेको छ।
आइतबार “अनेकतामा एकता, प्यारो हाम्रो विविधता” भन्ने नाराका साथ आयोजित कार्यक्रम पूर्वी पृतना हे.क्वाका पृतनापति उपरथी गौरव कुमार के.सी.को प्रमुख आतिथ्यमा महाविद्यालयको प्राङ्गणबाट शुभारम्भ भई धरान नगरको परिक्रमा गर्दै सम्पन्न भएको हो।
कार्यक्रममा महाविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूका साथै अध्ययनरत सम्पूर्ण विद्यार्थीहरू राष्ट्रिय पोशाक तथा आ–आफ्ना मौलिक सांस्कृतिक वेषभूषामा सहभागी भएका थिए। कार्यक्रमका क्रममा प्रमुख अतिथि उपरथी के.सी.ले पानसमा दीप प्रज्वलन गर्दै राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।
यस अवसरमा महाविद्यालयका प्रिन्सिपल रविन्द्र थापा, प्रमुख व्यवस्थापकीय अधिकृत प्रमुख सेनानी विमल कुमार वाग्लेलगायत सहभागी सबैले राष्ट्रनिर्माताको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान प्रकट गरेका थिए।
धरान नगर परिक्रमा अघि प्रमुख अतिथिले राष्ट्रिय सेवा दलको सि.सं. ५१ औँ जुनियर डिभिजन तालिममा सहभागी महाविद्यालयको प्लाटुन कमाण्डरलाई राष्ट्रिय झण्डा तथा महाविद्यालयको झण्डा हस्तान्तरण गरेका थिए। त्यसपछि महाविद्यालयको मूल प्रवेशद्वारमा राखिएको रिबन काटेर नगर परिक्रमा कार्यक्रमको शुभारम्भ गरिएको थियो।
प्रतिक्रिया