बनियानी : नेपाली चलचित्रका अभिनेता महानायक राजेश हमालले देशको विकासका लागि नागरिकस्तरबाटै सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्।
झापाको बिर्तामोडमा आज आयोजित इष्टर्न साहारा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अभिनेता हमालले मुलुक निर्माणमा सबैभन्दा ठूलो शक्ति नागरिककै हातमा रहेको उल्लेख गरे। “हाम्रो देश कसैले बनाइदिँदैन, बनाइदियो भने पनि त्यसमा उसको स्वार्थ हुन्छ,” उनले भने, “अहिले सबैभन्दा ठूलो शक्ति कसैसँग छ भने त्यो जनतासँग नै छ।”
देशमा केही भएन, सरकारले केही गरेन भनेर मात्र गुनासो गर्नु उपयुक्त नहुने उनको भनाइ थियो। सरकारमा जाने नेतृत्व जनताबाटै अनुमोदित भएर जाने भएकाले त्यसको जिम्मेवारी र भागिदारी जनता स्वयंको हुने उनले बताए। देशलाई समृद्धिको मार्गमा डो¥याउने नेतृत्व छनोट गर्ने जिम्मेवारी जनताकै भएकाले सचेत र चनाखो हुन उनले आग्रह गरे।
इष्टर्न साहाराजस्ता लगानीमूलक कम्पनीले देशको समृद्धिमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्दै हमालले यस्ता कम्पनीको लगानीबाट रोजगारी, शिक्षा, स्वास्थ्यलगायत समग्र क्षेत्रको विकासमा टेवा पुग्ने बताए।
कार्यक्रममा इष्टर्न साहारा कम्पनीका अध्यक्ष महेन्द्र गिरीले स–साना पुँजीलाई एकीकृत गरी दिगो समृद्धिका लागि हरित ऊर्जामा लगानी गर्ने उद्देश्यसहित कम्पनी स्थापना गरिएको जानकारी दिए। कम्पनीले जलविद्युत्, सौर्य ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि तथा पूर्वाधारलगायतका क्षेत्रमा चरणबद्ध रूपमा लगानी विस्तार गर्ने योजना रहेको उनले बताए।
कम्पनीका प्रबन्धक कृष्ण रानाभाटका अनुसार कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ, जारी पुँजी १ अर्ब ३७ करोड ५० लाख रुपैयाँ र चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ। कार्यक्रममा साहस ऊर्जा कम्पनीका सचिव दिनेश रोक्का, कम्पनीकी सञ्चालक कल्पना विक, सेयर सदस्य एकराज गिरीलगायतले आ–आफ्नो धारणा राखेका थिए।
प्रतिक्रिया