झापा : मेचीनगरमा राजवंशी समुदायले पहिलो पटक भाक्का पिठ्ठा उत्सव मनाएका छन्। मेचीनगर–७ इटाभट्टामा राजवंशी समाज विकास समिति मेचीनगरको आयोजनामा सम्पन्न उत्सवमा पाँच सय किलो चामलको पिठोबाट भाक्का तयार पारिएको हो।
रैथाने तथा परम्परागत खाद्य परिकारका रूपमा परिचित भाक्काको संरक्षण, प्रवर्द्धन र सम्बर्द्धन गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको समितिका नगर अध्यक्ष दिनेश राजवंशीले जानकारी दिए। भाषा, कला, संस्कार र संस्कृतिको पहिचान झल्किने भाक्का उत्सवले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने कार्यक्रमका प्रमुख अतिथि गोपालचन्द बुढाथोकीले बताए। २५ भन्दा बढी जातजाति बसोबास गर्ने मेचीनगरमा राजवंशी समुदायको उल्लेख्य उपस्थिति रहेको उनले उल्लेख गरे।
उत्सवमा नगरका १५ वटै वडाबाट ३० जना राजवंशी महिलाहरू जातीय पोसाक र गरगहनामा सजिएर भाक्का बनाउने कार्यक्रममा सहभागी भएका थिए। भाक्का पूर्वी तराईका झापा र मोरङका आदिवासी राजवंशी समुदायको परम्परागत खानाका रूपमा परिचित छ। धानको पिठोबाट बनाइने भाक्का पोसिलो र स्वादिलो हुने भएकाले पूर्वी तराईमा यसको लोकप्रियता बढ्दो छ।
मङ्सिर महिनादेखि झापाका काँकरभिट्टा, इटाभट्टा, बिर्तामोड, भद्रपुर, दमक लगायतका सहरी तथा ग्रामीण क्षेत्रका चोक–बजारमा भाक्का बनाएर राजवंशी समुदायसँगै अन्य समुदायले पनि बिक्री गर्दै आएका छन्।
मेचीनगर नगरपालिका–७ का वडाध्यक्ष प्रल्लाद ओलीका अनुसार पानीको बाफमा पकाइने र कुनै किसिमको मिसावट नहुने भाक्का स्वास्थ्यका लागि अति उपयोगी छ। उनका अनुसार जिल्लाभरका राजवंशी समुदायले हरेक वर्ष पुस २९ गतेलाई ‘भाक्का दिवस’का रूपमा नौ वर्षदेखि मनाउँदै आएका छन्।
प्रतिक्रिया