काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा चलिरहेको छ। पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन्।
सभापतिसहित संस्थापन समूहका नेताहरूले महाधिवेशनलाई आलटाल गर्न खोजेपछि महामन्त्रीद्वयले विधानअनुसार विशेष महाधिवेशन बोलाएको बताइएको छ। महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानको धारा १७(२) बमोजिम हस्ताक्षर संकलन गर्दै विशेष महाधिवेशनको माग गरेका थिए।
प्रचार–प्रसार उपसमिति सदस्य–सचिव माधवप्रसाद चम्लागाईंका अनुसार साँझ ५ बजेसम्म २,०३५ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गरिसकेका छन्। बिहान ८ बजेदेखि दर्ता प्रक्रिया सुरु भएको हो।
विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता भइरहेको छ। नाम दर्ताको शुल्क एक हजार रुपैयाँ तोकिएको छ। कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरूले दर्ता गरेर परिचयपत्र (कार्ड) लिने क्रम जारी रहेको उनले जानकारी दिए।
कांग्रेसमा देशभरबाट कुल ४,७४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्।
प्रतिक्रिया