काठमाडौँ : ज्योति विकास बैंकले ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणहरूको आवश्यकता पहिचान गर्दै सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्वास्थ्य चौकीहरूमा नवजात शिशुको शारीरिक तापक्रम सहज राख्न र हाइपोथर्मिया (अल्पता) हुनबाट बचाउन बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ ।
सुरक्षित प्रसूति सेवाको पहुँच दुर्गम क्षेत्रमा समेत सुनिश्चित गर्ने उद्देश्यले बैंकले आफ्ना शाखा नभएका स्थानहरूमा पनि अत्यावश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउँदै आएको छ ।
सोहीक्रममा, बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत बझाङको मष्टा गाउँपालिका–२ स्थित मष्टा स्वास्थ्य चौकी र खप्तडछान्ना गाउँपालिका–५ स्थित कालुखेती स्वास्थ्य चौकीमा बेबी वार्मर जडान गरिएको छ ।
यस्तै, बाजुराको त्रिवेणी नगरपालिका–३ स्थित पुर्भुता आधारभूत स्वास्थ्य सेवा केन्द्र र अछामको रामारोशन गाउँपालिका–६ स्थित भाटाकाटियाँ स्वास्थ्य चौकीमा पनि बेबी वार्मर स्थापना गरिएको बैंकले जनाएको छ ।
उपकरण हस्तान्तरण कार्यक्रममा सम्बन्धित स्वास्थ्य चौकीका पदाधिकारी तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो । सो अवसरमा डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मीलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो ।
बैंकले विभिन्न चरणमार्फत देशका अस्पताल, स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरहरूमा यसअघि प्रदान गरेका ६२ बेबी वार्मरमार्फत हरेक वर्ष करिब २ हजार २ सय ९४ भन्दा बढी नवजात शिशुले लाभ लिइरहेका छन् ।
प्रतिक्रिया