नेपाल बैंक लिमिटेड ८९औं वर्षमा प्रवेश

आइतबार, ३० कार्तिक २०८२

काठमाडौँ : नेपाल बैंक लिमिटेडले ८९ वर्षको यात्रा तय गरेको छ।

लेजर बुक, धातुको टोकन र पासबुकमार्फत सुरु भएको यसको यात्रा अब पूर्ण डिजिटल बैङ्किङतर्फ उन्मुख भएको छ।

नेपालको जेठो वाणिज्य बैंक नेपाल बैङ्क आइतबारदेखि औपचारिक रूपमा ८९ औँ वर्षमा प्रवेश गरेको हो। विसं १९९४ कात्तिक ३० गते स्थापना भएको यो बैङ्कबाट नै नेपालमा संस्थागत बैङ्किङ प्रणालीको सुरुवात भएको हो।

जनतामा ‘बैङ्क’ अभियानसहित अघि बढेको यो बैङ्क अहिले आधुनिक प्रविधि र जुझारु युवा जनशक्तिसहित देशभर सेवा प्रवाह गरिरहेको छ।

सरकारी स्वामित्वमा सुरु भए पनि सार्वजनिक–निजी साझेदारी (पिपिए) मोडेलमा १० जना लगानीकर्ताको लगानीबाट प्रारम्भ भएको नेपाल बैङ्कले अहिले देशव्यापी सञ्जाल फैलाइसकेको छ।

नेपाल बैङ्कले समय मात्र नभई एक राष्ट्रको आर्थिक चेतना परिपक्व हुँदै गएको प्रमाण पेस गरेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले बताए।

नेपालको बैङ्किङ इतिहासको जननीका रूपमा रहेको यो बैङ्कले अहिले समय अनुसार अपग्रेड भइरहेको उनले जानकारी दिए। गत आवको असार मसान्तसम्ममा तीन अर्ब ७७ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको बैङ्कको समग्रमा वित्तीय स्वास्थ्य राम्रो छ।

सस्तो ब्याजदर भएकै कारण पहिलेदेखि नै नेपाल बैङ्क कर्जाका लागि आकर्षक रहेको सिइओ पाण्डेयले बताए। विश्वसनीयताकै कारण ग्राहकहरू निरन्तर आइरहेको उनको भनाइ छ।

कर्जा र निक्षेप विस्तार भइरहेको बैङ्कमा चालु आवको पहिलो त्रैमाससम्ममा दुई खर्ब ३६ अर्ब रुपियाँ कर्जा प्रवाह भएको छ भने निक्षेप तीन खर्ब ४२ अर्ब रुपियाँ रहेको छ।

सञ्जाल विस्तारका हिसाबले ७१ जिल्लामा बैङ्क पुगेको छ भने देशका विभिन्न स्थानमा २३१ वटा शाखा, ६१ वटा एक्सटेन्सन काउन्टर र २३७ वटा एटिएम सञ्चालनमा छन्। बचतकर्ता र ऋणीसमेत गरेर बैङ्कसँग अहिले करिब २७ लाख ग्राहक रहेको जानकारी दिँदै पाण्डेले पूर्ण रूपमा प्रतिस्पर्धी र आधुनिक बैङ्कका रूपमा नेपाल बैङ्क अग्रसर रहेको बताए।

सरकारी स्वामित्वमा रहे पनि नियामक निकायको नियमनमा बसेर काम गर्न निजी क्षेत्रका बैङ्कसँग काँधमा काँध र कुममा कुम जोडेर बैङ्क अगाडि बढिरहेको उनको भनाइ छ।

अहिले कर्जाको तुलनामा निक्षेप उच्चदरले बढिरहेको भन्दै उनले यसलाई व्यवस्थापन गर्नका लागि उपयुक्त अवसर नभएको बताए।

अहिले बजारमा आइरहेको हल्लाले देशको अर्थतन्त्रको भविष्यबारे चिन्ता प्रकट भइरहेको अवस्थामा बैङ्किङ क्षेत्रमा प्रशस्त मात्रामा तरलता रहेको उनको भनाइ छ।

बैङ्कले ८९ वर्षको अवधिमा विभिन्न उतारचढाव सामना गर्दै अहिले अन्य सरकारी तथा निजी बैङ्कसँग प्रतिस्पर्धा गरिरहेको छ ।

सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहेको बैङ्क अहिले नयाँ नयाँ प्रविधिको प्रयोगले आम ग्राहकलाई आकर्षित गर्ने प्रयास गरिरहेको छ। नेपाली बैङ्क बजारमा अत्याधुनिक प्रविधिमैत्री, प्रभावकारी कर्मचारी र देशभर शाखा सञ्जाल भएको बैङ्कका रूपमा नेपाल बैङ्क परिचित छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार