इटहरी : पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरीले आफ्नो २८औँ वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। साधारणसभाबाट राजु दंगालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो।
नवनिर्वाचित अध्यक्ष दंगाल यसअघि सहकारीको लेखा समिति संयोजकका साथै सदस्यको भूमिकामा समेत सक्रिय रहेका थिए। सहकारी क्षेत्र र विभिन्न सामाजिक सङ्घ–संस्थामा उनको सक्रिय संलग्नता रहँदै आएको छ।
यसैगरी, सहकारीको उपाध्यक्षमा संयोग पराजुली र सचिवमा गौरीशङ्कर तामाङ निर्वाचित भएका छन्। सदस्यहरूमा पूर्णबहादुर तामाङ, यज्ञराज दाहाल, कृष्णप्रसाद भट्टराई, खेमु निरौला चापागाईँ,देवका पौडेल सिटौला र विष्णु उप्रेती सिटौला चयन भएका छन्।
साथै दयाराम भट्टराईको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरिएको छ, जसमा नगेन्द्रकुमार अधिकारी र योगेन्द्रकुमार पोखरेल सदस्य रहेका छन्।
सन् १९९६ (साल २०५३) मा जम्मा ५० जना शेयर सदस्यबाट सुरु भएको यो सहकारी इटहरीकै सबैभन्दा ज्येष्ठ सहकारी संस्थाको रूपमा परिचित छ। त्यस समयमा सुनसरीमा सहकारी दर्ता गर्ने निकाय नहुँदा यो सहकारी सप्तरीको राजविराजमा दर्ता गरिएको थियो।
प्रारम्भमा अध्यक्ष नारद उप्रेतीको नेतृत्वमा अढाई लाख रुपैयाँ शेयर पुँजीबाट सुरु भएको सहकारी अहिले १४ करोड ४४ लाख ७१ हजार ९ सय रुपैयाँ शेयर पुँजीमा विस्तार भएको छ।
सहकारीले हालसम्म ४८ करोड रुपैयाँभन्दा बढी रकम बजारमा ऋण लगानी गरेको छ भने निक्षेप ४९ करोड ९० लाख ८५ हजार ३ सय ७८ रुपैयाँ पुगेको छ।
अघिल्लो वर्षको तुलनामा मुनाफा बढाउँदै यस वर्ष सहकारीले १ करोड ४५ लाख १५ हजार २ सय २५ रुपैयाँ खुद मुनाफा आर्जन गरेको सहकारीका व्यवस्थापक माधव भट्टराईले जानकारी दिए।

हाल सहकारीमा कुल १,७१३ जना शेयर सदस्य रहेका छन्। इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका र मोरङको सुन्दरहरैंचा नगरपालिकाका सबै वडामा सहकारीको वित्तीय कारोबार विस्तार भएको छ।
व्यवस्थापक भट्टराईका अनुसार सदस्यहरूको साझा समृद्धि नै सहकारीको मुख्य लक्ष्य हो। सहकारीले भविष्यमा प्रविधिमैत्री सेवा विस्तार गर्दै सदस्यहरूलाई अझ सहज र दिगो सहकारी सेवा उपलब्ध गराउने योजना अघि सारेको छ।
यसैबीच, कार्यक्रमका क्रममा संस्थामा उत्कृष्ट योगदान पुर्याउने सदस्यहरूलाई सम्मान गरिएको थियो।
सम्मानित हुनेहरूमा उत्कृष्ट बचतकर्ता बिन्दाकुमारी खत्री, उत्कृष्ट ऋणी विमला कार्की, ज्येष्ठ सदस्य ८१ वर्षीय तारानाथ सिग्देल र ७५ वर्षीया गायत्रा घिमिरे रहेका छन्। उनीहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।
इटहरी–६ स्थित दुर्गा पाटी प्यालेसमा आयोजित कार्यक्रममा अध्यक्ष दिनेशकुमार भट्टराईले सहकारीको मूल मन्त्र आर्थिक समावेशिता, सामाजिक उत्तरदायित्व र सदस्य सशक्तीकरण रहेको उल्लेख गर्दै संस्था यही उद्देश्यसहित अघि बढिरहेको बताए।
सोही अवसरमा लेखा सुपरिवेक्षण समितिका संयोजक राजु दंगालले लेखा प्रतिवेदन प्रस्तुत गरे भने विभिन्न समितिका संयोजकहरूले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रमका वक्ताहरूले सहकारीलाई आर्थिक विकास र सामाजिक सशक्तीकरणको प्रभावकारी माध्यमका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
संस्थाका अध्यक्ष भट्टराईको अध्यक्षता र पूर्वअध्यक्ष तथा सल्लाहकार लेखनाथ घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सल्लाहकार डा. वेणुप्रसाद सिटौला, सहकारीका सदस्य, सञ्चालक, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया