५२ अर्ब ऋणले थलिएको वायुसेवा निगममा पहुँचका आधारमा झन्डै हजार कर्मचारी भर्ती

सोमबार, १७ कार्तिक २०८२

काठमाडौं : ०८०/८१ सम्म १७ अर्ब ४६ करोड रहेको वायुसेवा निगमको सञ्चित नोक्सानी चालू आर्थिक वर्षमा २० अर्ब नाघ्ने अनुमान गरिएको छ।

निगममा कार्यरत दुई हजार चार कर्मचारीमध्ये नौ सय २६ जना मात्र स्थायी छन्। पाँच सय ३९ अस्थायी, दुई सय ७३ करार र दुई सय ६६ ज्यालादारी गरी करिब एक हजार कर्मचारी राजनीतिक पहुँचका आधारमा भर्ती भएका हुन्।

सञ्चित नोक्सानी २० अर्ब नाघ्ने अनुमान गरिँदै गर्दा निगम ५२ अर्ब ऋण बोकेको छ। ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, ०८२’ अनुसार प्रक्रिया नअपनाई पाँच सय ३९ अस्थायी, दुई सय ७३ करार र दुई सय ६६ ज्यालादारी गरी कुल एक हजार ७८ कर्मचारी नियुक्त गरिएको उल्लेख छ।

एक साताअघि मात्रै बिदा भएका पूर्वअध्यक्ष युवराज अधिकारीले अवकाश पूर्व नै थप कर्मचारी नियुक्त गरेको आरोप छ। निगममा कुल दुई हजार चार कर्मचारीमध्ये स्थायी ९२६ मात्र रहेका छन्। राजनीतिक पहुँचका आधारमा अनावश्यक कर्मचारी राखिँदा आर्थिक भार बढेको देखिन्छ।

निगमले कर्मचारी तलब–सुविधामा मात्रै वार्षिक करिब सवा अर्ब खर्च गर्दै आएको छ। महालेखापरीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७९/८० मा तलब–सुविधामै एक अर्ब २३ करोड ४९ लाख खर्च भएको थियो। तर ०८०/८१ को लेखापरीक्षण प्रतिवेदन भने निगमले बुझाएको छैन।

प्रधानमन्त्री तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारमा निगम सञ्चालक समिति र व्यवस्थापनलाई बोलाएर प्रक्रिया बिना गरिएको भर्ती हटाउन निर्देशन दिइन्।

बैठकमा सहभागी निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले आवश्यक प्राविधिक करार कर्मचारीलाई मात्र राखी, तोक आदेशबाट नियुक्त गरिएका अन्यलाई हटाउने प्रक्रिया अघि बढाइने बताए।

कालाखेतीका अनुसार, “को–कसको आवश्यकता छ भनेर अध्ययन गर्छौँ। सबै करार आवश्यक छैनन्। प्रक्रिया नअपनाई तोक आदेशबाट नियुक्त भएकामाथि कारबाही केन्द्रित हुन्छ।”

प्रधानमन्त्रीको निर्देशनपछि कार्यवाहक अध्यक्ष विक्रम राईले पनि चाँडै देखिने गरी सुधारका कदम चाल्ने प्रतिबद्धता जनाए। उनले सरकारको साथ आवश्यक रहेको बताए। प्रधानमन्त्री कार्कीले पनि निगम सुधारका लागि सरकारले पूर्ण सहयोग गर्ने विश्वास दिलाइन।

प्रधानमन्त्रीको कडा निर्देशन

कार्कीले भनिन्, “निगमको हालत धनाढ्यको बिग्रेको घर जस्तै छ—बाहिर चम्किलो, भित्र दर्दनाक। जेन–जी आन्दोलन नातावाद, कृपावाद अन्त्यका लागि हो। तर यहाँ अवकाश पाउनुअघि नै मनपरी नियुक्ति भइरहेको छ। अब यो सहिँदैन।”

उनले निगमका बेथिति हटाउन कसैको दबाब नमान्न निर्देशन दिइन्। “राम्रो काम गर्दा अख्तियारसँग डराउनुपर्दैन। गैरकानुनी दबाब नमान्नुहोस्,” उनले भनिन्।

इन्जिन मर्मत, भाडाको इन्जिन खर्च, र निरन्तर घाटाका विषयमा पनि प्रधानमन्त्रीले प्रश्न उठाउँदै भनिन्, “निजी क्षेत्र नाफामा छ, सरकारको साधन–स्रोत पाएका तपाईँहरू घाटामा। बरु यो पैसाले विश्वविद्यालय वा अस्पताल बनाए राम्रो हुन्थ्यो।”

निगमको घाटा र ऋण अवस्था

०७८/७९ मा १६ अर्ब ८९ करोड आय भएको निगमले ०७९/८० मा २३ अर्ब ८६ करोड आय गरेको थियो। तर पछिल्ला वर्षमा आम्दानी घट्दै ०८०/८१ मा २१ अर्ब पाँच करोड र ०८१/८२ मा २० अर्ब ६७ करोडमा सीमित हुने अनुमान छ। उडान आय ०७९/८० मा १८ अर्ब ६३ करोडबाट घटेर ०८०/८१ मा १५ अर्ब ३५ करोड र ०८१/८२ मा १५ अर्ब १७ करोडमा झर्ने अनुमान गरिएको छ।

०७८/७९ मा १५ अर्ब १८ करोड रहेको सञ्चित नोक्सानी ०७९/८० मा १५ अर्ब ५९ करोड, ०८०/८१ मा १७ अर्ब ४६ करोड पुगेर चालू वर्षमा २० अर्ब नाघ्नेछ। जहाज खरिद ऋण ३४ अर्बबाट बढेर ५२ अर्ब पुगेको छ।

निगमले ८२ असोजसम्म ८ अर्ब ४५ करोड ऋण किस्ता तिरेको छ।निमित्त महाप्रबन्धक कालाखेती भन्छन्, “नोक्सानी व्यवस्थापन गरेर अघि बढ्ने योजना बनाइरहेका छौँ।”

 

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार