जमलको दोहोरी साँझमा गुण्डागर्दीः अशोक गिरी समूहको कुटपिटबाट विद्यार्थी गम्भीर घाइते

विहीबार, ०३ पुस २०८२

काठमाडौं : जमलमा सञ्चालित दोहोरी साँझमा खुलेआम गुण्डागर्दी भएको छ। प्रहरीका डिएसपीलाई सरुवा गराइदिने धम्की दिँदै हिँड्ने दोहोरी साँझ व्यवसायी अशोक गिरीको संरक्षणमा रहेका समूहले कुटपिट गर्दा एक युवक गम्भीर घाइते भएका छन्।

राजधानीको जमलस्थित विश्वज्योति मलको माथिल्लो तलामा सञ्चालन हुँदै आएको टप दरबार रोधी क्लबबाट बाहिर निस्कन लागेका एक ग्राहकलाई गिरी समूहका युवाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको खुलेको छ।

कुटपिटमा परेका युवक त्रिचन्द्र क्याम्पसका विद्यार्थी नेता आशिष गौतम रहेको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार गिरीको संरक्षणमा रहेका युवाले निर्घात कुटपिट गरेपछि उपचार गराउनुको सट्टा प्रहरी लगाइदिने धम्की दिँदै फरार भएका थिए।

घटनापछि घाइते गौतमले प्रहरीको आपतकालीन नम्बर १०० मा फोन गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले गिरी समूहका खगेन्द्र औडी भनिने युवकलाई नियन्त्रणमा लिएको छ।

केही वर्षयता जमल क्षेत्रमा दोहोरी साँझ सञ्चालन गर्दै आएका अशोक गिरी गुण्डागर्दीका कारण पटक–पटक प्रहरीको निगरानीमा पर्दै आएका व्यक्ति हुन्। यसअघि मायालु सेन्टरमा दोहोरी चलाउँदै आएका उनले पछिल्लो समय स्थान परिवर्तन गरी विश्वज्योति मलमा दोहोरी सञ्चालन गर्दै आएका थिए।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार दोहोरी सञ्चालक अशोक गिरीविरुद्ध कुटपिटसम्बन्धी जाहेरी दर्ता भइसकेको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

गिरीले यसअघि पनि दोहोरीमा आउने ग्राहकलाई प्रहरीका उच्च अधिकारीको नाम लिएर धाक–धम्की दिने गरेको उजुरीहरू प्रहरीमा परेका छन्। २०८० माघमा गिरी ६ हजार रुपैयाँको बिललाई ६० हजार बनाइ ठगी गरेको आरोपमा पक्राउ परेका थिए। सोही क्रममा उनले तत्कालीन दरबारमार्ग वृत्तका डिएसपी गोविन्द थापालाई आफूलाई पक्राउ गरे सरुवा गराइदिने धम्की दिएका थिए। तर, डिएसपी थापाले उजुरीको आधारमा गिरीलाई पक्राउ गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार