काठमाडौँ : जेनजी आन्दोलनबाट उदाएका युवा मिराज ढुङ्गानाले ‘दल खोल्ने जानकारी गराउन’ शनिवार काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा पत्रकार सम्मेलनको आयोजना गरे ।
आन्दोलनको ‘म्यान्डेट’ अनुसार संसद् विघटन भई जेनजी प्रतिनिधिकै प्रस्तावमा अन्तरिम सरकार गठन र नयाँ निर्वाचन घोषणा भइसकेको बेला जेनजी युवातर्फबाट राजनीतिक दल घोषणाको औपचारिक जानकारी गराउने ढुङ्गाना समूह नै हो ।
ढुङ्गाना समूहले पत्रकार सम्मेलनमार्फत दल घोषणा तयारी भइरहेको जानकारी दिएको हो । ‘जेनजीको साझा दल निर्माणको तयारी भइरहेको’ बताउँदै ढुङ्गानाले पत्रकार सम्मेलनमा ‘दलको नाम र संरचना’बारे भने केही जानकारी दिएनन् । उनले भने, ‘हामी निर्वाचनमा जाने उद्देश्यका लागि होइन, शक्ति सङ्गठित गर्न दल खोल्दैछौं ।’
आफ्नो ‘बटमलाइन’का रूपमा उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशमा रहेका नेपालीलाई मतदान अधिकार नदिएसम्म हामी निर्वाचनमा सहभागी हुँदैनौ ।’
उनका अनुसार, ‘हामीले दल खोल्नुको अर्थ निर्वाचनमा जानु होइन, यो कुरा स्पष्ट होस् । आन्दोलनपछि आएको हुलमुलले परिवर्तनकारी शक्तिको क्षयीकरण हुन्छ, त्यसैले शक्ति सङ्गठित गर्न एनजिओ वा राजनीतिक दल खोल्नु आवश्यक छ ।’
जेनजी आन्दोलनबारे बोल्दै ढुङ्गानाले भने, ‘आन्दोलन जेनजीले आह्वान गरेका हुन्, पहिलो दिन जेनजीमात्रै थिए, तर दोस्रो दिन सबै नेपाली सहभागी भए ।
यो पार्टी पनि हाम्रो मात्र होइन, सबै जनताको लागि खुला छ । हाम्रो छाता ठूलो छ ।’ उनले जेनजी आन्दोलनलाई ‘नयाँ क्रान्ति’को संज्ञा दिँदै ‘क्रान्तिका उपलब्धि जोगाउन सबै एकजुट हुनुपर्ने’मा जोड दिए ।
‘जेनजीको साझा पार्टी’ बनाउने तयारी भइरहेको बताइरहेका ढुङ्गानाले पत्रकार सम्मेलनमा पार्टीको नाम, नेतृत्व, संरचना र विस्तृत कार्यक्रमबारे केही खुलाएनन् । जब सञ्चारकर्मीहरूले ती विषयमा प्रश्न गर्न थाले, उनले प्रश्नको डङ्गप्रति असन्तुष्टि जनाउँदै ‘चित्त नबुझेको’ प्रतिक्रिया दिए ।
सञ्चारकर्मी मात्र होइन, बाहिरी व्यक्तिहरूको पनि उपस्थितिमा केहीले ‘जेनजी आन्दोलनको सन्देशभन्दा बाहिर जानु राम्रो नहुने’ भन्दै चेतावनी दिएका थिए । सम्मेलनकै क्रममा सामाजिक सञ्जालमा ढुङ्गानामाथि ‘पार्टीको नाम, नेतृत्व र नीति अस्पष्ट राखेर अस्थिरता फैलाउने प्रयास गरेको’ भन्दै टिप्पणीहरू आएका थिए ।
त्यसैगरी, ‘महँगो पाँचतारे होटेलमा पत्रकार सम्मेलन गरेर अपारदर्शी र आर्थिक दम्भ प्रदर्शन गरेको’ आरोप पनि लगाइएको थियो । सम्मेलनका क्रममा धेरै प्रश्नहरूको जवाफमा ढुङ्गानाले भने, ‘पार्टी औपचारिक रूपमा सार्वजनिक भएपछि सबै कुरा स्पष्ट हुनेछ, अहिले विश्वास गरेर साथ दिनुहोस् ।’
ढुङ्गानाले बारम्बार आफ्नो न्यूनतम एजेन्डामा अडिग रहने कुरा दोहोर्याए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने माग दोहोराउँदै भने, ‘विदेशमा रहेका नेपालीलाई भोट हाल्ने व्यवस्था हुनैपर्छ । ३ करोड जनसङ्ख्यामा ८० लाखलाई छुट्टाएर कसरी हुन्छ ?’
पत्रकार सम्मेलनछेउमै शहीद परिवारका तर्फबाट सात बुँदे माग राख्दै एक जना युवाले मागपत्र प्रस्तुत गरे ।
शहीद परिवारका इन्द्रजीत साफीले आफूलाई ‘शहीदको आत्मा’ भन्दै कालो कपडा लगाएर अनुहार छोपे र ‘प्लेकार्ड’मार्फत मागहरू प्रस्तुत गरे ।
साफीले जेनजी आन्दोलनमा गोली चलाउनेमाथि छानबिनको माग गर्दै निःशुल्क शिक्षा, उपचार, रोजगारीको व्यवस्था, साथै प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्नुपर्ने मागसमेत राखेका थिए ।
प्रतिक्रिया