विराटनगर : विराटनगरबाट स्रोत नखुलेको करिब साढे ८ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो विराटनगर महानगरपालिका–१२ सैनिक टोलमा चेकजाँचका क्रममा उक्त रकम बरामद गरेको हो। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार सीमा क्षेत्रबाट विराटनगरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर ३८ भी ३३२८ नम्बरको मोटरसाइकललाई शंका लागेपछि रोकेर चेकजाँच गर्दा रकम फेला परेको हो।
प्रहरीका अनुसार मोरङको जहदा गाउँपालिका–७ का ४६ वर्षीय नवीन साहले लगाएको हेल्मेटभित्र उक्त रकम लुकाएर ल्याउँदै गरेका थिए। हेल्मेटभित्रबाट १ हजार दरका ८ सय, ५ सय दरका ५१, १ सय दरका १ सय ४६ र ५० दरका १ सय २ थान नेपाली नोट फेला परेको प्रहरीले जनाएको छ।
कुल ८ लाख ४७ हजार रुपैयाँ बरामद भएको र साहले उक्त रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको एसपी कटवालले जानकारी दिए।
बरामद गरिएको रकम, मोटरसाइकल र पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। यस घटनाबारे इन्स्पेक्टर कवीन राईको नेतृत्वमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया