इटहरी : पूर्व पश्चिम राजमार्गले छोएको रामधुनी वडा नं. ५ मा स्थानीय अशोक रौनियारले निर्माणाधीन घर रोक्न जिल्ला अदालत सुनसरीले अन्तरिम आदेश दिएको छ ।
स्थानीय बजार भाउँ अनुसार महँगो मूल्य पर्ने जग्गामा निर्माण भएको घरको विवाद चुलिएसँगै भाग्यनारायण साहले अदालतमा निवेदन पेस गरेसँगै अदालतले अन्तरिम आदेश दिएको हो ।
न्यायधीस नवराज कार्कीले गरेको आदेश अनुसार निर्माणाधीन घरको दक्षिणतर्फ भाग्यनारायणले आफ्नो पाँच धुर जग्गा कब्जा गरेको भनी दाबी गरेसँगै मुलुकी देवानी २०७४ को दफा १५६ बमोजिम अन्तरिम आदेश दिएको उल्लेख छ ।
जिल्ला अदालत सुनसरीका रजिस्टार टिकेन्द्रजंग राणाका अनुसार निवेदकको निवेदन बमोजिम अन्तरिम आदेशसँगै विपक्षी अर्थात् घर निर्माण गर्ने अशोकलाई पत्र समेत तामेली गरी सकिएको बताए । अब पनि अदालतको आदेश विपरीत घर निर्माण गरे अदालतको मानहानिमा कारबाही हुने राणाले बताए ।
रामधुनी वडा नं. ५ का भाग्यनारायण साहका परिवारले आफ्नो जग्गा मिचेको दाबीसहित नगरपालिकाको न्यायिक समितिमा उजुरी पेस गरेका थिए । त्यहाँ विवाद नमिलेपछि भाग्यनारायणले अदालतमा निवेदन पेस गरेका थिए ।
भाग्यनारायण पक्षले आफ्नो जग्गा अशोकले तत्कालीन गाविस छँदा भादगाउँ सिनुवारी वडा नं. ५ ‘ख’ को कित्ता नं. ११७९ जग्गामध्येबाट पाँच धुर जग्गा मिचेका दाबी गरेका छन् ।
अशोकको भादगाउँ सिनुवारी वडा नं. ६ ‘क’ को कित्ता नं. १७७ को दुई धुर र १७८ को चार धुर गरी जम्मा ६ धुर जग्गा रहेकोमा त्यो राजमार्ग विस्तार हुँदा सडकको भागमा परेको दाबी गरिएको छ ।
प्रतिक्रिया