विराटनगर : नेकपा (एमाले)का युवा नेता पर्शुराम बस्नेत (कृष्ण)ले पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने इच्छा व्यक्त गरेका छन् । उनलाई केन्द्रीय सदस्यको बलियो दाबेदारका रूपमा हेरिएको छ ।
एमाले केन्द्रीय सदस्य बन्ने आकांक्षा व्यक्त गर्दै उनले बलियो दाबेदारी प्रस्तुत गरेका हुन् । ३ दशकभन्दा बढी समयदेखि युवा आन्दोलन, संगठन निर्माण र पार्टीलाई स्थानीयदेखि प्रदेश तथा केन्द्रीय तहसम्म बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेका बस्नेत युवामाझ लोकप्रिय छन् ।
यद्यपि, उनलाई विगतमा विभिन्न विवादमा मुछ्ने प्रयास भएको थियो । पार्टीभित्र लिएको उचाइ र पुर्याएको योगदानकै कारण आफूलाई विवादमा तान्ने प्रयास गरिएको बस्नेत बताउँछन् । तर, अहिले एमालेभित्र उदाउँदै गरेको एक प्रभावशाली युवा शक्तिका रूपमा स्थापित छन् ।
विराटनगर, मोरङ र कोशी प्रदेशसहित मुलुकभरका एमाले युवामाझ लोकप्रिय बस्नेत राजनीतिक कठोरता, संगठन चलाउने क्षमता र तत्कालीन कठिन परिस्थितिमा युवालाई एकताबद्ध गर्ने नेतृत्व क्षमताकै कारण चर्चित छन् । अहिले एमालेभित्र नेतृत्व विस्तारको बहसमा उनको नामलाई विशेष महत्वका साथ हेरिएको एमालेका युवा नेता मुकेश बुढाथोकीले बताए ।
बुढाथोकीका अनुसार लामो राजनीतिक यात्राले बस्नेतलाई युवा नेतृत्वबाट अघि बढ्दै पार्टीको केन्द्रीय सदस्य दाबी गर्न सक्षम बनाएको छ । १६ वर्षको उमेरमै एमालेको भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघबाट राजनीति सुरु गरेका बस्नेतले पिपुल्स भोलिन्टियर्स, युवा संघ नेपाल, युथ फोर्स, एमालेको मोरङ र प्रदेश कमिटीसम्म पहुँच बनाइसकेका छन् ।
उनले युवा संघ नेपालको मोरङ उपसचिवदेखि उपाध्यक्ष, युथ फोर्स मोरङका प्रमुख, युवा संघ नेपालको केन्द्रीय सदस्य, लेखा आयोग सदस्य, केन्द्रीय सचिवदेखि कोशी अञ्चल सहसंयोजक, एमाले मोरङको सचिवालय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका छन् । बस्नेत हाल एमालेको कोशी प्रदेश कमिटी सदस्य तथा नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्ष छन् ।
एमालेको विभिन्न कमिटीमा बसेर लामो समयदेखि संगठन एवं पार्टी निर्माणमा सक्रिय रहेका बस्नेतको भूमिकाले उनलाई स्वाभाविक र परिपक्व युवा नेतृत्वका रूपमा उभ्याएको बुढाथोकी बताउँछन् । एमाले नेतृत्वको कोशी प्रदेश सरकारले उनलाई प्रदेश खेलकुद विकास बोर्डको संस्थापक सदस्यसचिव नियुक्त गरेको थियो । खेलकुद क्षेत्रलाई संस्थागत र व्यवस्थित गर्न उनले देखाएको सक्रियता र व्यवस्थापन क्षमताले बस्नेतको प्रशासनिक दक्षता झल्काउने बुढाथोकीको भनाइ छ । सदस्यसचिवको भूमिका कुशलतापूर्वक निर्वाह गरेर बस्नेत बिदा भएका थिए ।
युवासँग काम गर्ने अनुभव एवं क्षमता, प्रदेशस्तरमा संगठन विस्तार गर्ने कौशल र कठिन मोडमा पार्टीलाई टेवा पुर्याउने नेतृत्वशक्तिकै कारण बस्नेतको उपस्थिति पार्टीभित्र अपरिहार्य रहेको एमाले नेता कार्यकर्ताको भनाइ छ । उनीसँग एमालेको बुटवलमा भएको आठौँ महाधिवेशनमा सचिवालयमा रहेर काम गरेको अनुभव छ । नवौँ, दशौँदेखि ११औँ महाधिवेशनसम्म लगातार प्रतिनिधिका रूपमा उपस्थित रहँदै आएका छन् ।
आफूले केन्द्रीय सदस्यका लागि योग्य र आवश्यक दाबी गर्नुको मुख्य कारण भनेको अहिलेको राष्ट्रिय परिवेश र युवामाझ देखिएको राजनीतिक दूरी रहेको बस्नेतले बताए । उनका अनुसार देशमा अराजकता, अनुशासनहीनता र निराशा बढ्दै गएको छ । यस्तो अवस्थामा युवालाई राष्ट्र, राष्ट्रियता र स्वाधीनताको महत्व बुझाउँदै सही राजनीतिक दिशातिर उन्मुख गराउन सक्षम नेतृत्व अनिवार्य हुन्छ ।
बस्नेत भन्छन्, ‘राजनीति नै समृद्धिको मार्ग हो । युवालाई राजनीति बाट टाढा राख्न हुँदैन । राजनीतिबाट युवा पुस्ता पलायन हुने जोखिम रोक्न नेतृत्व अब जिम्मेवार बन्नुपर्छ ।’ युवालाई संगठित, अनुशासित र राष्ट्रवादमा उभ्याउने लक्ष्यका साथ उनी तीन दशकदेखि सक्रिय छन् । यही अनुभव अब केन्द्रीय नेतृत्वस्तरमा रहेर प्रयोग गर्न चाहन्छन् ।
उनी भन्छन्, ‘महाधिवेशन एमालेभित्र युवा नेतृत्वलाई अगाडि ल्याउने अवसर हो । ऊर्जा, अनुशासन र संगठनात्मक क्षमतायुक्त व्यक्तिको केन्द्रीय उपस्थितिबिना पार्टीले आफ्नो भविष्यको रणनीति प्रभावकारी ढंगले अगाडि बढाउन सक्दैन ।’
बस्नेत खुलेर केपी शर्मा ओलीका नीतिगत विचार, राष्ट्रवाद, विकास–समृद्धि र राष्ट्रिय स्वाभिमानको समर्थनमा उभिने नेतामध्ये एक हुन् । ओलीका विश्वस्त युवा नेताका रूपमा परिचित बस्नेत अहिले पार्टीभित्र ओली नेतृत्वलाई मजबुत बनाउने अभियानमा सक्रिय छन् । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प तथा समृद्ध नेपाल र सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने उद्देश्य प्राप्त गर्नका लागि तथा नवयुवाहरुले मुलुकको नेतृत्व गर्नुपर्छ भन्ने आवाज उठिरहेको अवस्थामा पार्टीको महाधिवेशनलाई एकताबद्ध बनाउँदै सबैतिर नयाँ सन्देश प्रवाह गर्ने गरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सोच बनाएको उनले बताए ।
उनी आफ्नै भूमिकालाई ‘पार्टी एकता, युवा जागरण र राष्ट्रिय स्वाभिमानलाई अगाडि बढाउने अनिवार्य कडी’का रूपमा प्रस्तुत गर्छन् । उनी भन्छन्, ‘केपी ओलीलाई अध्यक्ष स्थापित गर्न र देशलाई उठाउन युवा शक्तिको नेतृत्व आवश्यक छ । त्यसैले मेरो केन्द्रीय सदस्यताको उम्मेदवारी अपरिहार्य बनेको हो ।’ पार्टीभित्र पनि बस्नेतको यो भूमिकालाई सकारात्मक रूपमा हेरिएको नेताहरु बताउँछन् । उनी एमालेभित्र प्रभावशाली युवा नेता मानिन्छन् । जसले पार्टीलाई दीर्घकालीन रूपमा बलियो बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरिन्छ ।
उनीसँग रहेको संगठनगत अनुभव, युवालाई परिचालन गर्ने क्षमता, पार्टी संकटका बेला नेतृत्व कौशल, राष्ट्रिय मुद्दामा दृढता र ओली नेतृत्वप्रति निष्ठाजस्ता गुण पार्टीका लागि अहिले अत्यन्त आवश्यक मानिन्छन् । ‘एमाले नयाँ पुस्तामा भरोसा स्थापित गर्न चाहन्छ,’ एमालेका युवा नेता बुढाथोकी भन्छन्, ‘बस्नेतजस्ता युवालाई केन्द्रीय भूमिकामा ल्याउनैपर्छ भन्ने आवाज पार्टीभित्र बलियो बन्दै गएको छ ।’ बस्नेतका समर्थकहरू भन्छन्, ‘मोरङदेखि कोशी प्रदेशसम्म बस्नेत युवाको पहिलो रोजाइ हुन् । युवा शक्ति केन्द्रीकरण गर्न उनीभन्दा सक्षम नाम छैन ।’
पर्शुराम बस्नेतको केन्द्रीय सदस्यतर्फको आकांक्षा व्यक्तिगत महत्वाकांक्षा मात्रै नभएर पार्टीको भविष्य निर्माणमा युवाशक्तिको निर्णायक प्रवेशका रूपमा लिइएको समर्थकहरु बताउँछन् । उनीहरुका अनुसार एमालेले आफ्नो दीर्घकालीन संगठनात्मक शक्ति, ओली नेतृत्वको स्थिरता, राष्ट्रवादको एजेन्डा र युवा ऊर्जालाई समन्वय गर्न चाहन्छ भने बस्नेतजस्ता नेता केन्द्रीय समितिमा हुनु अनिवार्यजस्तै देखिन्छ ।
पार्टीको ११ औँ महाधिवेशनबाट केपी ओली अध्यक्ष र पर्शुराम बस्नेत केन्द्रीय सदस्यका रूपमा स्थापित भएमा एमालेले नयाँ पुस्तासँग नयाँ ऊर्जा र नयाँ दिशा फराकिलो रूपमा प्राप्त गर्ने विश्वास पार्टीभित्र पनि बढ्दो रहेको समर्थकको भनाइ छ । उनीहरुका अनुसार बस्नेतले पार्टीमा लामो समयदेखि निरन्तर लागेर योगदान गरेका छन् । उनी युवा ‘सेन्टिमेन्ट’ बटुल्न सफल नेता हुन् ।
विभिन्न पक्षबाट आक्रमण भएर पार्टी संकटमा परेका बेला उनकै नेतृत्वमा अराजक तत्वलाई परास्त गर्ने काम भएको बुढाथोकी बताउँछन् । पार्टी संकटमा परेर नेता कार्यकर्ता पलायन हुने अवस्था सिर्जना हुँदा एमालेका युवा नेता बुढाथोकीलगायतले बस्नेतलाई साथ दिएका थिए ।
बुढाथोकीका अनुसार संकटका बेला पार्टीलाई बचाउन खम्बा भएर उभिने तथा पार्टीको पक्षमा भूमिका खेल्ने काम बस्नेतले गरिरहेका छन् । युद्धरत अवस्थाबाट शान्ति प्रक्रियामा आएको माओवादीले वाईसीएल गठन गरेर ठाउँठाउँमा आतंक मच्चाउँदा बस्नेत नेतृत्वको युर्थ फोर्सले खुलेर प्रतिवाद गरेको स्मरण सबैले गर्छन् ।
त्यतिबेला ठाउँठाउँमा युथ फोर्स र वाईसीएलको झडप हुने गरेको थियो । बस्नेतको नेतृत्वमा रहेका युवाहरुकै समूहले प्रतिवाद गरेका कारण माओवादीबाट जन्मिएको वाईसीएलको आतंक रोक्न मोरङमा सफल भएको दाबी युथ फोर्सको थियो ।
साथै, मधेश आन्दोलनको नाममा बढ्दो हिंसा र अराजकताको पनि बस्नेतको समूहले खुलेर प्रतिवाद गरेको थियो । युथ फोर्सबाट बस्नेतको समूह सक्रिय रहेकै कारण आन्दोलनमा नाममा भइरहेका हिंसा र अराजकता रोकिएको विराटनगरका एक व्यवसायी बताउँछन् । व्यापारीमाथि विभिन्न धम्की दिने र आक्रमण गर्नेजस्ता गतिविधिविरुद्ध बस्नेतको समूह पिलरजस्तै बनेर उभिएको थियो ।
विभिन्न समूहको चन्दा आतंक, आक्रमण र धम्कीबाट आजित भएका विराटनगरका उद्योगी व्यवसायीलाई युथ फोर्सले सहयोग गरेको थियो । उद्योगी, व्यापारीदेखि सर्वसाधारण नागरिकमाथि बढ्दो अत्याचारको खुलेर प्रतिवाद गरेको विषयको अहिले पनि प्रशंसा हुने गरेको एमालेका नेता कार्यकर्ताहरु बताउँछन् ।
बस्नेतसँगै मोरङबाट केन्द्रीय सदस्यका लागि विभिन्न आकांक्षीहरु देखिएका छन् । प्रतिनिधिसभाको ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङ नेपाली राजनीतिको उर्वरभूमी मानिन्छ । त्यही भएकाले मोरङबाट एमालेको केन्द्रीय कमिटीमा को–को पर्छन् भन्ने चासोको विषय बनेको छ । मोरङबाट एमालेको महाधिवेशनका लागि ४६ जना प्रतिनिधि चयन भएका छन् ।
हाल जीवन घिमिरे, रामलाल साह, युवराज बास्कोटा, नैनकला ओझा, नरेन्द्रकुमार श्रेष्ठ र मोतीलाल दुगड केन्द्रीय सदस्य छन् । घिमिरे, दुगड र श्रेष्ठ ओली समूहका हुन् भने बाँकी नेताहरु ईश्वर पोखरेल समूहमा छन् ।
एमाले मोरङका पूर्वअध्यक्षहरु नरेश पोखरेल र ऋषिकेश पोखरेलले पनि केन्द्रीय सदस्य बन्ने आकांक्षा व्यक्त गरिरहेका छन् । सुन्दरहरैँचा घर भएका कोशी प्रदेशसभाका पूर्वसदस्य राजकुमार ओझा, वर्तमान प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी, ज्ञानेन्द्र सुवेदी, रंगेली नगरपालिकाका मेयर दिलिपकुमार बगडियासहित मनोज अग्रवाल, सत्यनारायण चौधरी, बिमला घिमिरे, धनमाया तामाङलगायत केन्द्रीय सदस्य बन्ने लाइनमा छन् ।
तीमध्ये राजकुमार ओझा, नरेश पोखरेल, ऋषिकेश पोखरेल, दिलिपकुमार बगडिया संस्थापन पक्षका हुन् । लिलाबल्लभ अधिकारी, मनोज अग्रवाल, सत्यनारायण चौधरी ज्ञानेन्द्र सुवेदीलगायत ईश्वर पोखरेल पक्षधर हुन् ।
प्रतिक्रिया