नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक भोलि बिहान ८ बजे बस्ने गरी स्थगित गरिएको छ । आजदेखि ललितपुरको रामबाघ महलमा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा करिब ५० जना केन्द्रीय सदस्यले आफ्ना विचार प्रस्तुत गरेका छन् । सदस्यहरुलाई बोल्नका लागि तीन मिनेटको समय दिइएको र थप विचार लिखित रुपमा बुझाउन सकिने व्यवस्था गरिएको उनले जानकारी दिए । बैठकमा भोलि पनि धारणा राख्ने क्रम जारी रहनेछ ।
बैठकमा नेताहरुले अन्तरिम सरकार गठनको विषय, जेनजी समूहको गतिविधि र उनीहरुले उठाएका माग, भदौ २४ गतेको विध्वंस घटनाको छानबिन, छानबिन आयोगका अध्यक्षको विवादास्पद अभिव्यक्ति लगायतका मुद्दामा धारणा राखेका छन् । केही सदस्यहरुले पूर्वराष्ट्रपतिको सदस्यता सम्बन्धी विषय पनि उठाएका छन् ।
बैठकको प्रारम्भिक सत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै देशमा “प्रतिक्रान्ति सुरु भएको” दाबी गरेका थिए । उनले सो प्रतिक्रान्तिको मुख्य निशाना एमाले बनेको बताउँदै पार्टीले लिएका नीतिहरु जनपक्षीय भएकै कारण आक्रमण बढेको टिप्पणी गरे ।
“एमाले नै कम्युनिष्ट आन्दोलनको अनवरत शक्ति हो, हामीलाई कमजोर पार्ने सबै प्रयास असफल हुनेछन्,” ओलीले भनेका थिए ।
बैठकमा उनले एमालेको ११औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव पनि प्रस्तुत गरेका छन् ।
एमालेको केन्द्रीय कमिटी बैठक असोज ३१ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया