एनपीआईले प्रस्ताव गर्‍यो विदेशस्थित नेपाली नागरिकका लागि हाइब्रिड बाह्य मतदान मोडेल

आइतबार, २६ असोज २०८२

काठमाडौं : नेपाल पोलिसी इन्स्टिट्युट (एनपीआई) ले विदेशस्थित नेपाली नागरिकका लागि सन् २०२६ को आम निर्वाचनदेखि मतदानको व्यवस्था गर्न निर्वाचन आयोगलाई नौ बुँदे नीति सिफारिस बुझाएको छ।

प्रतिवेदन “विदेशस्थित नेपाली नागरिकका लागि बाह्य मतदानको व्यवस्था: आगामी २०२६ र त्यसपछिका सम्भावित उपायहरू” शीर्षकमा एनपीआई कार्यकारी सदस्य शशि जोशी श्रेष्ठको नेतृत्वमा प्रमुख निर्वाचन आयुक्त र सचिवसहितका पदाधिकारीलाई बुझाइएको हो। नीति सिफारिस गृह, परराष्ट्र तथा प्रधानमन्त्री कार्यालयसहितका प्रमुख सरकारी निकायमा समेत पठाइएको छ।

एनपीआईका अनुसार, सन् २०२५ को ‘जेन–जेड आन्दोलन’पछिको राजनीतिक सन्दर्भमा आगामी निर्वाचनलाई सबै नेपालीको समावेशी सहभागिता सुनिश्चित गर्ने अवसरका रूपमा लिइएको छ। संस्थाका अध्यक्ष डा. खगेन्द्रराज ढकालले देशबाहिर रहेका लाखौँ नेपाली नागरिक अझै मतदाता नामावलीमा दर्ता हुन नसकेको बताए।

एनपीआईले नेपालका लागि हाइब्रिड बाह्य मतदान मोडेल प्रस्ताव गरेको छ। यसमा चार विकल्प छन्:
१. दूतावासमार्फत प्रत्यक्ष मतदान,
२. इन्टरनेट–आधारित आई–भोटिङ,
३. हुलाकमार्फत मतदान,
४. नेपाल फर्किएर बहुदिवसीय मतदान।

सन् २०२६ का लागि नौ बुँदे नीति सिफारिसमा कानुनी व्यवस्था, मतदाता दर्ता र प्रमाणीकरण, बहुदिवसीय मतदान अवधि, लचक प्रमाणीकरण, बाह्य मतदान विभाग स्थापना, साइबर सुरक्षा परीक्षण, आई–भोटिङ प्राथमिकता, र सञ्चार तथा पहुँच विस्तार समावेश छन्।

प्रतिवेदनले आई–भोटिङ र ई–भोटिङ बीच भिन्नता स्पष्ट पारेको छ। ई–भोटिङ मतदान केन्द्रमा इलेक्ट्रोनिक मेसिनमार्फत हुन्छ भने आई–भोटिङ इन्टरनेटबाट सुरक्षित मतदान सुविधा हो। आई–भोटिङले ३० भन्दा बढी देशमा सफल अभ्यास पाइसकेको छ।

एनपीआईले पूर्ण डिजिटल लोकतन्त्रतर्फ दीर्घकालीन रूपान्तरण सम्भव रहेको र यसले विदेशस्थित मात्र नभई आन्तरिक रूपमा सरेका कामदार, विद्यार्थी र सीमान्त समुदायलाई पनि मतदानमा सहभागी गराउन सक्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार