जनकपुरधाम : नाबालिकामाथि सामूहिक बलात्कार गरेको गम्भीर आरोपमा नेकपा (एमाले) मधेश प्रदेश कमिटी सदस्य तथा जनकपुरधाम उपमहानगरपालिकाका इन्चार्ज शिवशङ्कर साह ‘हिरा’ पक्राउ परेका छन्।
घटनापछि फरार रहेका उनले भारत भागेर लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले उनीलाई मङ्गलवार साँझ सीतामढीबाट पक्राउ गरी जनकपुर ल्याएको हो।
प्रहरीका अनुसार गत कार्तिक २२ देखि २५ गतेसम्म जनकपुरधामस्थित एक होटेलमा नाबालिकालाई बन्धकझैँ राखी साहसहित चार जनाको समूहले सामूहिक जबरजस्ती करणी गरेको आरोप छ। सोही घटनामा संलग्न मुख्य आरोपी हिराका भाइ मनोज साहलाई प्रहरीले केही दिनअघि नै काठमाडौँबाट पक्राउ गरेर धनुषा ल्याइसकेको थियो।
पक्राउ परेका ‘हिरा’ जनकपुरधामको राजनीति र व्यापारिक क्षेत्रमा प्रभावशाली व्यक्तिमध्ये मानिन्छन्। उनी २०७९ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरका उम्मेदवार रहे। साथै, नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेश प्रदेशका पूर्वअध्यक्ष समेत हुन्।
प्रहरीका अनुसार पीडित परिवारलाई आर्थिक प्रलोभन देखाएर घटना बाहिर नआउने गरी मिलाइदिने प्रयाससमेत गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनालाई ढाकछोप गर्न सहयोग गर्ने एक बिचौलियालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
घटना सार्वजनिक भएलगत्तै धनुषा प्रहरीले पीडित बालिकालाई संरक्षणमा लिएर अनुसन्धान अघि बढाएको थियो। हाल बालिकालाई सुरक्षित ‘सेफ हाउस’ मा राखिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया