लुटपाटको उद्देश्यले काठमाडौंबाट ओखलढुङ्गा पुगेका व्यक्तिद्वारा वृद्ध दम्पत्तीको निर्मम हत्या, दुई पक्राउ

आइतबार, २५ माघ २०८२

ओखलढुङ्गा : ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ बोहोरेमा गत माघ १२ गते राति भएको वृद्ध दम्पती हत्या प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

लुटपाट गर्ने योजनासहित काठमाडौँबाट गाउँ पुगेका उनीहरूले ८१ वर्षीय चन्द्र विक्रम राई र उनकी ८० वर्षीया श्रीमती चन्द्रमाया राईको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

प्रहरीका अनुसार चन्द्र विक्रम आफ्नै घरको दोस्रो तलामा रहेको सुत्ने कोठाको खाटमा सिरक ओढेको अवस्थामा मृत फेला परेका थिए भने चन्द्रमाया खाट छेउको भुईँमा सिरक ओढिएको अवस्थामा मृत भेटिएकी थिइन्।

माघ १३ गते बिहान करिब ७ः४० बजे स्थानीयले प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको थियो।

घटनाको गम्भीरता हेरेर कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको संयुक्त टोली खटिएको थियो। थप प्राविधिक अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का विज्ञ समेत परिचालन गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा ३४ वर्षीय धनबहादुर राना मगर र एक १७ वर्षीय बालकलाई माघ २३ गते काठमाडौँ महानगरपालिका–१५ डल्लुस्थित डेराबाट पक्राउ गरिएको हो। पक्राउ परेका धनबहादुर चिशंखुगढी गाउँपालिका–६ कै स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रतिवादीहरूले काठमाडौँमै लुटपाटको योजना बनाएका थिए। गाउँमा चिनिने डरले राति वृद्ध दम्पतीको घरमा प्रवेश गरी हत्या र लुटपाट गरी फरार भएका उनीहरूले भाग्ने क्रममा बस टिकट काट्दा समेत फरक नाम प्रयोग गरेको खुलेको छ।

घटनास्थलबाट हत्या गर्न प्रयोग भएको कोदालो बरामद गरिएको छ।त्यस्तै, प्रतिवादीको डेराबाट मृतकले प्रयोग गर्ने मोबाइल, घटनामा प्रयोग भएका मोबाइल सेट, लुटिएको नगद, सुनका गहना, सिक्री, सिममाला लगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। काभ्रेपलाञ्चोकको पनौतीस्थित आफन्तको डेराबाट मृतक चन्द्र विक्रम राईको मोबाइल समेत फेला परेको छ।

पक्राउ परेका दुवैलाई बरामद प्रमाणसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा पठाइएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

न्युज डेस्क
लेखकको बारेमा
न्युज डेस्क
संस्थापक

सम्बन्धित समाचार