काठमाडौँ । वरिष्ठ अभिनेता सुनिल थापाको शव आज पोस्टमार्टम गरिने भएको छ । परिवारका सदस्य मुम्बईबाट शनिबार राति करिब १० बजे काठमाडौँ आइपुगेपछि अन्त्येष्टि अघि पोस्टमार्टम गर्नुपर्ने परिवारको चाहनाअनुसार उक्त प्रक्रिया अघि बढाइने तयारी गरिएको हो ।
कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले परिवारले पोस्टमार्टमपछि मात्र अन्त्येष्टि गर्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार आज पहिले पोस्टमार्टम सम्पन्न गरिने र त्यसपछि मात्र अन्त्येष्टिको कार्यक्रम तय हुनेछ ।
शनिबार बिहान हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा थापाको निधन भएको थियो । शंखमुलस्थित अपार्टमेन्टमा एक्लै बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र क्षेत्रमा सक्रिय थिए । उनले नेपाली र बलिउड गरेर तीन सयभन्दा बढी फिल्ममा अभिनय गरेका थिए ।
नेपाली चलचित्रमा ‘खलनायक’को भूमिकालाई नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ नामले चर्चित थिए । उनले यो पहिचान फिल्म ‘चिनो’बाट बनाएका थिए । परिवारका अन्य सदस्य भारतको मुम्बई बस्दै आएका छन् ।
प्रतिक्रिया